काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र यातायात व्यवस्था विभाग बीच प्रस्तावित ‘सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ माथि छलफल भएको छ ।
बुधबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटवार्ता गरी निर्देशिकाका विभिन्न व्यवस्था माथि छलफल गरेको हो ।
नाडाका अनुसार विभागसँग विद्युतीय सवारी साधनहरूको वारेन्टी, ग्यारेन्टी, अथोराइज्ड सर्भिस सेन्टर, चार्जिङ्ग स्टेसन, प्रयोग भइसकेका ब्याट्रीहरूको दीर्घकालीन व्यवस्थापन, नक्कली प्रमाणीकरण (डुप्लिकेट सर्टिफिकेसन), कागजात (डकुमेन्टेसन), छाप र लोगोको प्रयोग, मोटर क्षमता र सिट संख्यामा देखिएको विवाद, भन्सार महसुल निर्धारणका आधार लगायत विषयमा छलफल भएको थियो ।
नाडाका अध्यक्ष चौधरीले निर्देशिकाका प्रत्येक बुँदामाथि विस्तृत छलफल गरिनुपर्नेमा जोड दिए। उनले यस निर्देशिकाका सम्बन्धमा नाडामा थप विस्तृत छलफल गरी विभागलाई सुझाव पठाउने प्रतिबद्धता जनाए ।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकाका केही बुँदाहरू नेपालको सन्दर्भमा व्यावहारिक बनाउनुपर्ने र केही जटिल विषयहरूमा थप छलफलको आवश्यकता रहेको बताए ।
विभागका महानिर्देशक पोखरेलले नेपालमा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धमा कुनै स्पष्ट नीतिनियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको स्पष्ट पारे। उनले यसका लागि विभिन्न चरणमा छलफल गरिने जानकारी गराए।
विभागका छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयातसँग सम्बन्धित व्यवस्थाहरूका बारेमा बैठकलाई विस्तृत जानकारी गराएका थिए।

