ईभीको ब्याट्री खपत ५०० गेगावाट आवर नाघ्यो, सीएटीएलको हिस्सा घट्यो, कुनको कति ?

काठमाडौं । सन् २०२५ को ६ महिना (जनवरी-जुन)मा विश्वव्यापी विद्युतीय सवारी साधन (ईभी)को ब्याट्री खपत ३७.३ प्रतिशतले बढेको छ । दक्षिण कोरियाली बजार रिसर्च कम्पनी ‘एसएनइ’ले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

सार्वजनिक तथ्यांक अनुसार सन् २०२५ को ६ महिनामा विश्वव्यापी ईभीको कुल ब्याट्री प्रयोग ५०४.४ गेगावाट आवर पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३७ गेगावाट आवर धेरै हो । गत वर्ष यही अवधिमा ३६७.४ गेगावाट आवर ब्याट्री प्रयोग भएको थियो ।

सन् २०२५ मा विद्युतीय सवारी साधनको उत्पादन बढेसँगै ब्याट्रीको प्रयोग पनि बढेको हो ।

विश्व ब्याट्री बजारमा चिनियाँ कम्पनीहरुकै वर्चश्व रहेका छ । जसमा सीएटीएलको बजार हिस्सा सबैभन्दा धेरै ३७.९ प्रतिशत हिस्सा ओगटेको हो । यो दोस्रो स्थानमा रहेको बीवाइडीकोभन्दा दोब्बर धेरै हो ।

६ महिनामा सीएटीएलको मात्रै १९०.९ गेगावाट आवर ब्याट्री प्रयोग भएको छ । गत वर्षको सोही अवधिको तुलनामा सीएटीएलको वृद्धिदर ३७.९ प्रतिशत रहेको छ । गत वर्ष ६ महिनामा सीएटीएलले १३८.५ गेगावाट आवर ब्याट्री उत्पादन तथा बिक्री गरेको थियो ।

दोस्रो स्थानमा अर्को चिनियाँ ब्राण्ड बीवाइडी छ । बीवाइडीले विश्व ब्याट्री बजारमा १७.८ प्रतिशत हिस्सा ओगटेको छ । उसले ६ महिनामा ८९.९ गिगावाट आवर ब्याट्री बिक्री गरेको हो । बीवाइडीको ब्याट्री प्रयोग अघिल्लो वर्षको सोही अवधिमा तुलनामा ५८.४ प्रतिशतले बढेको हो । गत वर्ष ६ महिनामा यसको ५६.७ गिगावाट आवर मात्रै ब्याट्री बनाएको थियो ।

दक्षिण कोरियाली ब्राण्ड एलजी इनर्जीले ९.४ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा छ । एलजीले ४७.२ गिगावाट आवर ब्याट्री बिक्री गरेको हो । यो अघिल्लो वर्षको तुलनामा ४.४ प्रतिशतको वृद्धि हो । एलजीले समग्र बजार हिस्सा भने गुमाएको छ ।

त्यस्तै, चौथो स्थानमा चीनकै सीएएलबी कम्पनी रहेको छ । यसको बजार हिस्सा ४.३ प्रतिशत रहेको छ । पाँचौं स्थानमा अर्को कोरियन ब्राण्ड ‘एसके अन’ छ । यसको बजार हिस्सा ३.९ प्रतिशत रहेको छ ।

ब्याट्री उत्पादनमा जापानी कम्पनी पानासोनिक ३.७ प्रतिशत बजार हिस्सा सहित पाँचौं स्थानमा रहँदा कोरियन गोसन हाइटेक ३.६ प्रतिशत बजार हिस्सा सहित छैटौं स्थानमा छ ।

त्यस्तै, सामसङ एसडीआई ३.२ प्रतिशत हिस्सा सहित सातौं, आठौं स्थानमा ईभीई इनर्जी रहेको छ । यसको बजार हिस्सा २.७ प्रतिशत छ ।

नवौं स्थानमा चिनियाँ ब्राण्ड एसभोल्ट इनर्जी छ । यसको बजार हिस्सा २.६ प्रतिशत छ । बाँकी अन्य ब्राण्डको बजार हिस्सा ११.१ प्रतिशत रहेको छ ।


Back_to_top