नेपालीले सवारी साधनको बीमा गर्न कति रकम खर्चिन्छन् ? यी कम्पनी रोजाइमा

काठमाडौं । नेपालीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा मोटर बीमामा पौने १४ अर्ब रुपैयाँ खर्चिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत आवमा १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीले मोटर बीमा बापत कुल १३ अर्ब ७५ करोड ३९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।

यो अघिल्लो आव २०८०/८१ को तुलनामा ९३ करोड रुपैयाँ धेरै हो । उक्त आवमा बीमा कम्पनीहरूले मोटर बीमा बापत १२ अर्ब ८३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थिए ।

त्यस्तै, गत आवमा अघिल्लो वर्षको तुलनामा मोटर बीमा पोलिसी संख्या पनि ९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कुल १७ लाख ६३ हजार ५५ वटा मोटर बीमा पोलिसी बिक्री भएकोमा गत आवमा १ लाख ५८ हजार ७५१ वटाले बढेर १९ लाख २१ हजार ८०६ वटा पुगेको छ । यो पम्प्रिहेन्सिभ र थर्ड पार्टी दुवै मोटर बीमा पोलिसीको तथ्यांक हो ।

अघिल्ला आवको तुलनामा गत वर्ष नयाँ सवारी साधनको बिक्री बढ्दा मोटर बीमा गर्ने पनि बढेका हुन् । भन्सार विभागका अनुसार गत आवमा समग्रमा डेढ लाख बढी सवारी साधन आयात भएको थियो ।

एकीन तथ्यांक नभए पनि हाल नेपालमा ४५ लाख बढी सवारीसाधन रहेको अनुमान छ । तीमध्ये केही संचालनमा छैनन् । हरेक सवारी साधन नवीकरण हुँदा अनिवार्य थर्ड पार्टी बीमा गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, करिब एकतिहाई अर्थात् ४२ प्रतिशत सवारीले मात्र बीमा गर्ने गरेको देखिन्छ ।

युनाइटेड अजोड इन्स्यारेन्सका सीईओ कमल गौतम दर्ता भएका सबै सवारीधनीले आफ्नो साधनको बीमा नगर्ने बताउँछन् । ‘दर्ता भएका सबै सवारी साधानले बीमा गर्दैनन् । केही सवारी वर्षौंदेखि थन्किएर बसेका छन् । त्यस्तै, धेरैजसो ग्रामीण क्षेत्रमा चलाउने र सवारी भएर पनि नियमित नचलाउनेहरूले पनि बीमा गरेको पाइँदैन,’ उनले मेरोअटोसँग भने ।

नेपालमा करिब ४५ लाख हाराहारीमा सवारी रहेकोमा आधाले पनि मोटर बीमा नगर्नु निकै गम्भीर विषय रहेको उनले बताए । सरकारले थर्ड पार्टी इन्स्योरेन्स अनिवार्य गरे पनि पूर्णतः व्यवहारमा लागू हुन नसकेको उनको भनाइ छ ।

यता, नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुसिलदेव सुवेदी सवारी साधनको ‘थर्ड पार्टी’ बीमा अनिवार्य गरिए पनि प्रभावकारी अनुगमन हुन नसक्दा सबै सवारीको बीमा हुन नसकेको बताउँछन् । संचालनमा रहेका सवारीको अनिवार्य बीमाका लागि यातायाता व्यवस्था विभाग र सम्बन्धित निकायले प्रभावकारी अनुगमन र चेकजाँज गर्नुपर्ने उनले बताए ।

‘कम्प्रिहेन्सिभ मोटर बीमा स्वेच्छिक रहे पनि सवारी नवीकरण गर्न थर्ड पार्टी इन्स्यारेन्स अनिवार्य छ । तर, हाल जति सवारी छन्, ती सबैको बीमा भएको देखिँदैन,’ उनले मेरोअटोसँग भने, यातायात व्यवस्था विभाग लगायत निकायले अनुमगन र चेकजाँचमा कडाइ गर्नुपर्छ ।’ सबै सवारी साधनको रेकर्ड डिजिटल हुने हो भने थर्ड पार्टी बीमा नगरेकालाई कारबाहीको दायारामा ल्याउन सकिने उनको भनाइ छ ।

सवारीधनीले आफ्नो सवारी साधनको सुरक्षणका लागि मोटर बीमा गर्छन् । सवारी साधन चलाउने क्रममा हुने सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिबाट बच्न मोटर बीमा गरिन्छ ।

साथै, सवारी साधनले तेस्रो पक्षलाई पुर्याउने हानी नोक्सानीबाट बच्न पनि मोटर बीमा गर्छन् । हाल ‘थर्ड पार्टी’ बीमा अनिवार्य भए पनि सवारी बीमा भने स्वेच्छिक रहेको छ । यद्यपि, किस्ताबन्दीमा किन्न सवारी साधनमा भने अनिवार्य छ ।

कुन कम्पनीमा गर्छन् धेरै बीमा ?

गत आवमा सवारीधनीले सबैभन्दा धेरै मोटर बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा गरेका छन् । प्राधिकरणका अनुसार हिमालयनले गत वर्ष २ लाख १३ हजार ७१३ वटा मोटर बीमा पोलिसी बिक्री गरेको छ । त्यसबापत कम्पनीले १ अर्ब १२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यसैगरी, गत आव सिद्धार्थ प्रिमियरले दोस्रो धेरै १ लाख ६७ हजार ८०१ वटा पोलिसी जारी गरेको छ । त्यसबापत कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यस्तै, गत वर्ष नेको इन्स्यारेन्सले १ लाख ६७ हजार ७ वटा, शिखर इन्स्यास्रेन्सले १ लाख ६३ हजार ६४२ वटा र सगरमाथा लुम्बिनी इन्स्यारेन्सले १ लाख ५१ हजार ७ वटा पोलिसी बिक्री गरेको छ । गत वर्ष मोटर बीमा बापत सगरमाथा लुम्बिनी इन्स्यारेन्सले सबैभन्दा धेरै १ अर्ब ८५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

गत आव नेपाल इन्स्यारेन्स १ लाख ३८ हजार २२८, आइजीआई प्रुडेन्सियलले १ लाख ३५ हजार ३१ र एनएलजी इन्स्यारेन्सले १ लाख १६ हजार २८७ वटा बीमा पोलिसी जारी गरेका छन् ।

गत वर्ष १० कम्पनीले भने १ लाखभन्दा कम मोटर बीमा पोलिसी बिक्री गरेका छन् । जसमा युनाइटेड अजोड ९९ हजार ८४०, नेपाल माइक्रो इन्स्यारेन्स ९८ हजार ४२५, प्रभु ९१ हजार ९८६, प्रोटेक्टिभ माइक्रो इन्स्यारेन्स ९१ हजार ५५१, स्टार माइक्तो इन्स्यारेन्स ८८ हजार ९५, सानिमा जीआइसी ७६ हजार ५९७, ट्रष्ट माइक्तो इन्स्यारेन्स ६९ हजार २९२, राष्ट्रिय बीमा कम्पनी २८ हजार ६४३ र ओरेन्टलले १७ हजार २२ वटा पोलिसी जारी गरेका छन् ।

गत वर्ष नेशनल इन्स्यारेन्सले सबैभन्दा कम ७ हजार ६३९ वटा मात्रै पोलिसी बिक्री गरेको छ । जसबापत कम्पनीले १० करोड ६९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।


Back_to_top