यसरी लिनुहोस् इम्बोस्ड नम्बर प्लेट (प्रक्रियासहित)

काठमाडौं । सरकारले आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ । असोज १ देखिसवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको हो ।

सरकारले आवश्यक पूर्वतयारी बिनै यसअघि फ्लप भएको इम्बोस्ड नम्बर फेरि अनिवार्य गरेको हो । यातायात व्यवस्था विभागले २०७३ देखि सुरू गरेको इम्बोस्ड नम्बर हालसम्म करिब ९० हजार सवारीमा मात्र जडान भएको छ । यद्यपि, २०७८ मंसिर भित्र २५ लाख सवारीमा इम्बोस्ड जडान गर्ने लक्ष्य राखेको थियो ।

पछिल्लो समय विभागले सूचना जारी गरेसँगै अहिले यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडान गर्नेको भीड लाग्न थालेको छ । सेवाग्राहीले सहजै सेवा नपाएको गुनासो समेत गरिरहेका छन् ।

कतिपयलाई इम्बोस्ड नम्बर कसरी जडान गर्ने प्रक्रिया समेत थाहा नभएको पाइन्छ । त्यसैले यहाँ हामीले इम्बोस्ड नम्बर जडान गर्ने प्रक्रिया बारे जानकारी दिएका छौं ।

यस्तो छ इम्बोस्ड जडानको प्रक्रिया

इम्बोस्ड नम्बर प्लेट देशभरका सबै कार्यालयबाट जडान हुँदैन । अहिले देशका २१ यातायात कार्यालयबाट मात्रै इम्बोस्ड जडान हुन्छ । त्यसमा पनि सिधै ती कार्यालयमा गएर इम्बोस्ड नम्बर पाइँदैन ।

इम्बोस्ड जडान गर्नुअघि निश्चित प्रक्रिया पूरा गरी अनलाइन आवेदन दिनुपर्छ । त्यसपछि सवारीको प्रकृति अनुसार तोकिएको राजस्व बुझाउनुपर्छ । अनि मात्र यातायात कार्यालयमा गएर जडान गर्न सकिन्छ ।इम्बोस्डका लागि निम्म प्रक्रिया पूरा गर्नुहोस् ।

  • सबैभन्दा पहिला यातायात व्यवस्था विभागको वेबसाइट खोल्नुहोस् । त्यसपछि विभागको वेबसाइटको होमपेजको स्क्रीनको केही तल दायाँतिर भएको ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ मा क्लिक गर्नुहोस् ।
  • त्यसपछि नयाँ विन्डोज खुल्छ । त्यसमा भएको स्क्रिनको दायाँतिर रहेको ‘गेट स्टार्टेड’ भन्ने विकल्पमा क्लिक गर्नुहोस् । त्यसपछि सवारी साधनको हालको नम्बर प्लेटमा उल्लेख नम्बर र दर्ता मिति इन्ट्री गर्नुहोस् । यसमा पुरानो (अञ्चलबाट जारी भएको नम्बर प्लेट)को हकमा भने कार्यालय कोड राख्नुपर्ने ठाउँलाई छोडेर अन्य विवरणहरू सवारीको लट कोड, वर्गीकरण र नम्बर राख्नुहोस् । त्यसपछि तपाईंको मोबाइल नम्बर र इमेल इन्ट्री गर्नुहोस् । मोबाइल वा इमेलमा आएको ओटीपी कोड राखी अघि बढ्नुहोस् ।
  • त्यसपछि खुल्ने नयाँ पेजमा सवारी साधन नम्बर, इन्जिन नम्बर, च्यासिस नम्बर, सवारीको तौल, क्षमता, प्रकार लगायत विवरण भर्नुहोस् । त्यसपछि सवारी धनीको विवरण भर्नुहोस् । मोबाइल नम्बर इमेल राख्नु होस्।
  • त्यसपछि तपाईं आवेदनको अर्को चरणमा प्रवेश गर्नुहुनेछ । जहाँ सवारीधनीले आफ्नो ब्लूबुक, नागरिकता वा पासपोर्ट, सवारी कर तिरेको भौचर, लगायत मागे बमोजिमका कागजातहरूको फोटो अपलोड गर्नुहोस् ।
  • त्यसपछि नेक्स्ट अप्सनमा क्लिक गरी सम्पूर्ण जानकारी भेरिफाई गर्नुहोस् । र, आवेदन दिन स्क्रीनको दायाँतिर गएर सब्मिटमा क्लिक गर्नुहोस् । त्यसपछि स्क्रीनमा आउने फारम प्रिन्ट गर्नुहोस् ।
  • अनलाइन आवेदन दिइसकेपछि सवारी साधन अनुसार दुईपाँग्रेको २ हजार ५००, तीनपाँग्रेको २ हजार ९००, चारपाँग्रे साना तथा मझौलाको ३ हजार २०० र ठूला सवारीका लागि ३ हजार ६०० रुपैयाँ राजस्व तिर्नुपर्छ । राजस्व अनलाइन माध्यम वा सम्बन्धित यातायात कार्यालयमा रहेका बैंकका शाखामार्फत भुक्तानी गर्न सकिनेछ ।
  • उक्त फारम प्रिन्ट गरी आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा आवश्यक कागजात (नागरिकता, ब्लूबुक, शुल्क तिरेको रसिद, किस्तान्दीमा छ भने सम्बन्धित कम्पनीले दिएको सहमतिपत्र) बुझाउनुपर्छ ।
  • त्यसपछि यातायात कार्यालयका कर्मचारीले तपाईंले भरेको फारमको विवरण सही छ कि छैन भेरिफाइ गरी इम्बोस्ड नम्बर जडानका लागि स्वीकृति दिन्छन् । त्यसपछि त्यहीँ रहेका कर्मचारीले तपाईंको सवारीमा इम्बोस्ड जडान गरिदिन्छन् ।


Back_to_top