काठमाडौं । स्टेलान्टिस ग्रुप भित्रै राखेर चीन बाहेकका देशमा पहिलो पटक बिक्री सुरू भएको लीपमोटर बी-१० नेपालमा साउन २१ गते सार्वजनिक भएको थियो । ४६०० एमएम लामो क्रसओभर एसयूभीको सुरूवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएसँगै बजारमा प्राइस वारले चर्चा पायो ।
लीपमोटरको नयाँ एसयूभी बी-१० चीन बाहिर राइट ह्याण्ड ड्राइभ मार्केटमा पहिलो पटक नेपालमै लन्च भएको कारण यसमा धेरैको चासो थियो । त्यो स्वभाविक पनि हो । हाम्रा छिमेकी देश भारत, श्रीलंका, माल्दिभ्सको अलावा मलेसिया, सिंगापुर र इन्डोनेसिया जस्ता देशमा पनि लीपमोटर प्रवेश गर्दैछ । यी मध्ये केही बजारमा उपस्थित भइसकेको पनि छ ।
युरोपकै सफल मध्येको एक ग्रुप स्टेलान्टिसले लीपमोटरको अन्तर्राष्ट्रिय सेयर ५१ र चीनमा २० प्रतिशत लिएको छ । त्यसैले चीन बाहिरको बजारमा स्टेलान्टिसको प्रत्येक्ष संलग्नता देखिन्छ ।
बी-१० र सी-१० मा फरक
लीपमोटर बी-१० यसअघि नै बजारमा आएको सी-१० भन्दा कम मूल्यमा उपलब्ध एसयूभी हो । यसको इन्ट्री भेरियन्ट ४९ लाख ९९ हजार र टप भेरियन्ट ५६ लाख ९९ हजार रुपैयाँमा किन्न पाइन्छ । 
लम्बाइमै तुलना गर्ने हो भने सी-१० मा ४७३९ एमएम छ । जबकि बी-१० को लम्बाइ ४५१५ एमएम छ । त्यसैले यी दुईको ठूलो परिवर्तन साइज हो । साथै, केही फिचर बी-१० को तुलनामा सी-१० मा प्रिमियम पाउन सकिन्छ ।
एउटै पावरको मोटर र लगभग टप भेरियन्टमा उत्रै साइजको ब्याट्री भएको कारण बी-१० कम मूल्यमा आकर्षक एसयूभी खोज्नेको रोजाइमा पर्छ ।
ड्राइभिङ अनुभव
काठमाडौंदेखि नुवाकोटसम्मको यात्रामा बी-१० एसयूभी ड्राइभिङको हिसाबले उत्कृष्ट लाग्यो । साँचै १६० किलोवाट पीकपावर भएको मोटरको पर्फमेन्स उत्कृष्ट छ । रेन्जको हिसाबले पनि ६७ किलोवाट आवरको ब्याट्रीले ४५० किलोमिटर आसपासकै रेन्ज दिने देखियो ।

कम्पनीले यसलाई सानो ५६ किलोवाट आवरको ब्याट्रीमा पनि बिक्री गर्नेछ । गाडीको सस्पेन्स उत्कृष्ट लाग्छ । चालक सिट हिटेड र भ्यान्टिलेटेड भएको कारण मौसको चुनौती पार पाउन निकै सहज हुन्छ । एसीको क्वालिटी उत्कृष्ट छ ।
स्टेरिङ ह्वील निकै स्मार्ट तरिकाले तयार पारिएको छ । चार तरिकाले मिलाउन मिल्ने स्टेरिङ ह्वीलसँगै जोडिएको इन्स्ट्रुमेन्ट क्लष्टर निकै उत्कृष्ट लाग्छ । जुनसुकै साइज र हाइटका चालकले पनि यसको क्लस्टरमा गुनासो गर्नुपर्ने छैन ।
अगाडि कै जस्तो आरामदायी सिट यसको पछाडि पनि पाउन सकिन्छ । १४.६ इन्चको २.५ के एचडी स्क्रीनमा गज्जपको क्वालिटी पाउन सकिन्छ । सुरक्षाको लागि ६ एयरब्याग, एडास, ३६० डिग्री जस्ता क्यामेराले ढुक्क बनाउँछ ।

यसको ड्यासबोर्ड पनि कस्टुमाइजेसन गर्न मिल्नेगरी तयार पारिएको छ । अगाडि प्यासेन्जर सिटसँगै ड्यासबोर्ड कस्टुमाइजेसनको लागि स्थान छोडिएको छ । प्रिमियम लेदर सिट, हिटेड स्टेरिङ ह्वील पनि यसको अर्को बलियो पक्ष हो । क्वालकमको स्न्यापड्रागन ‘८२९५ ए’ चीप सेग्मेन्टकै लिडर हो । अर्को प्यानारोमिक शनरुफ पनि सेग्मेन्टमै ठूलो छ ।
किन किन्ने बी-१० एसयूभी
यसलाई किन्नेले सबैभन्दा उत्कृष्ट अफर पाउने नै ब्याट्री र मोटरमा हो । मूल्यका हिसाबले अन्य प्रतिस्पर्धीभन्दा बी-१० मा ठूलो ब्याट्री छ । साथै, १६० किलोवाटको मोटर यसको बलियो पक्ष हो ।

स्पेसियस क्याबिन, मिनिमल डिजाइनको एक्सटेरियर र इन्टेरियर तपाईं यसमा पाउनु हुन्छ । १८० एमएमको उच्च ग्राउण्ड क्लियरेन्सले नेपालको जस्तो सडकमा उत्कृष्ट पर्फमेन्स दिन्छ र चालकलाई ढुक्कसँग गाडी चलाउन प्रेरित गर्छ ।
कमजोरी के छन् ?
लीपमोटर बी-१० को ड्यासबोर्ड अन्य चिनियाँ कारको तुलनामा सफ्ट टच नभएर हार्डटफ छ । अगाडिको एयर भेन्टमा एक्टिभ एयर फ्ल्याप दिएको भए राम्रो हुन्थ्यो ।

