आज काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने, ६१६ ट्राफिक परिचालन

काठमाडौं । हरितालिका तिज पर्वको अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रका विभिन्न सडकखण्डमा सवारी साधन चलाउन निषेध गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरि सहज आवागमनको व्यवस्थापन गर्नेछ त्यसका लागी करिडोर सडक र भित्री सडकहरूमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाएको ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए ।

सदाझै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अबस्था भएको खण्डमा मात्र डाईभर्सनको नीति अबलम्बन गरि वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाएको छ ।

तीननकुनेबाट सिनामङ्गलतर्फ,बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरूलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ ।

दर्शनार्थी एवम् भक्तजनका सवारी साधनहरूको पार्किङ्ग तीलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरू , सुरक्षाकर्मिका पार्किङ्ग हुनेछन् ।

त्यसैगरी, कोषको कार्यालय र अमालकोट कोषका कर्मचारी र पर्वसँग सम्बन्धित सवारी साधन र भण्डारखालमा सरकारी संथान र विशिष्ट व्यक्तिका सवारी साधनहरूलाई पार्किङ व्यवस्था मिलाएको छ ।

कार्यालय प्रमुख अधिकारीका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरू छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ ।

सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राखिदिनु हुन समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

हरितालिका तिज पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउनको लागि प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा कमाण्ड सेन्टर राखी ६१६ जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ भने आवश्यकता अनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरी समेत खटाइदै जाने ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए।

हरितालिका तिजकै अवसरमा अन्य शिवालयहरूमा हुन सक्ने भिडभाडलाई समेत मध्यनजर गरी ट्राफिक प्रहरीहरू खटाइने समेत प्रवक्ता गिरीले जानकारी दिए ।


Back_to_top