काठमाडौंमा दुईपाँग्रे सवारी चढ्नेले १ वर्षमा तिरे २.५९ अर्ब कर

काठमाडौं । यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराले गत आर्थिक वर्ष २०८२/८३ मा साढे २ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले गत आवमा कुल २ अर्ब ५९ करोड १३ लाख ७६ हजार २९२ रुपैयाँ राजस्व संकलन गरेको हो । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनमा ३६ करोड रुपैयाँ बढी हो । आघिल्लो आवमा उक्त कार्यालयले कुल २ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।

कार्यालयका सूचना अधिकारी गोबिन्दराज शिवाकोटीका अनुसार सवारी साधन कर, चालक अनुमतिपत्र, सवारी दर्ता लगायत शिर्षकमा उक्त राजस्व संकलन गरिएको हो ।

उनका अनुसार सबैभन्दा धेरै सवारी साधन कर शिर्षकमा १ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, चालक अनुमतिपत्र र सवारी दर्ता शिर्षकमा ९१ करोड १ लाख, यातायात क्षेत्रको आम्दानी १ करोड ५७ लाख, अन्य प्रशासनिक सेवाशुल्क ८० हजार र ४ हजार ५८५ रुपैयाँ बेरुजु उठेको उनले जानकारी दिए ।

बागमती प्रदेश सरकारले पुरानो कर तथा जरिवाना छुट दिँदा बक्यौता कर तिर्नेहरू बढेको कार्यालयले जनाएको छ । बागमती प्रदेशले गत आवमा आर्थिक वर्ष २०८१/८२ अघि जति सुकै वर्षको कर तिर्न बाँकी भए पनि पछिल्लो ३ आवको मात्र कर बुझाएमा सोभन्दा अगाडिका आर्थिक वर्षहरूमा लाग्ने सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिएको थियो ।

गुर्जुधार देशमै सबैभन्दा धेरै सवारी दर्ता भएको कार्यालय हो । यस कार्यालयमा साढे १६ लाख बढी सवारी दर्ता छन् ।


Back_to_top