अफरोड एसयूभी ल्याउने दौड तीव्र, आउँदै छन् ३ नयाँ मोडल

काठमाडौं । पछिल्लो समय अफरोड ड्राइभिङ र एड्भेन्चर यात्राप्रति बढ्दो आकर्षणसँगै भारतमा कार उत्पादन गर्दै आएका कम्पनीहरूले ३ नयाँ मोडल ल्याउने भएका छन् ।

महिन्द्रादेखि टोयोटासम्मका कम्पनीले सन् २०२८ सम्ममा कम्तीमा ३ नयाँ अफरोड एसयूभी भारतीय बजारमा ल्याउने तयारी गरेका छन् ।

पहाडी तथा चुनौतीपूर्ण भूगोलमा यात्रा गर्ने उपभोक्ताको संख्या बढ्दै जाँदा बलियो निर्माण, उच्च ग्राउण्ड क्लियरेन्स, फोर ह्वील ड्राइभ र अफरोड क्षमता भएका एसयूभीको माग बढेको हो ।

सुरूमा भारतबाट बिक्री सुरू हुने यी नयाँ मोडलमध्ये केही नेपालमा पनि आउने सम्भावना रहेकाले नेपाली अटोमोबाइल बजारका लागि समेत यी मोडल चासोका विषय बन्न सक्छन् ।

नयाँ महिन्द्रा थार

अफरोडप्रेमी बीच लोकप्रिय महिन्द्रा थारको फेसलिफ्ट यही वर्ष आउने अपेक्षा गरिएको छ । नयाँ फेसलिफ्टमा थारको डिजाइन ‘थार रक्स’सँग मिल्दोजुल्दो हुने अनुमान छ ।

यसमा नयाँ ‘सिक्स स्लट ग्रिल’ तथा ‘सी’ आकारको डीआरएलसहितको एलईडी हेडलाइट रहनेछ । कीलेस इन्ट्री, पुश–बटन स्टार्ट, वायरलेस स्मार्टफोन चार्जर र भेन्टिलेटेड फ्रन्ट सिटजस्ता फिचर थपिने छन् ।

महिन्द्राले फेसलिफ्ट थारमा इन्जिन र गियरबक्स भने परिवर्तन गर्ने छैन । महिन्द्रा थार नेपाली बजारमा पनि परिचित मोडल भएकाले नयाँ संस्करण नेपाल आउने सम्भावना उच्च छ ।

हुन्डाईको नयाँ अफरोड एसयूभी

हुन्डाईले पनि भारतीय बजारमा नयाँ अफरोड एसयूभी ल्याउने योजना सार्वजनिक गरिसकेको छ । कम्पनीले नयाँ मोडलका विषयमा विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन ।

उपलब्ध जानकारी र अनुमानअनुसार यो एसयूभी मोनोकोक प्लेटफर्ममा आधारित हुन सक्नेछ । यसमा पेट्रोल र पेट्रोल-इलेक्ट्रिक हाइब्रिड पावरट्रेन विकल्प दिइने छ ।

सामान्य संस्करणमा अगाडिका पाङ्ग्रामा पावर पठाउने व्यवस्था हुने र हाइब्रिड संस्करणमा पछाडिको पाङ्ग्रालाई दोस्रो इलेक्ट्रिक मोटरमार्फत चलाउने ‘ई–एडब्लूडी’ प्रणाली उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।

कम्पनीले यसको सार्वजनिक गर्ने समय घोषणा नगरे पनि सन् २०२८ मा बजारमा आउने अपेक्षा गरिएको छ ।

हुन्डाईका एसयूभी नेपालमा लोकप्रिय रहेकाले नयाँ अफरोड मोडल नेपालमा पनि आउने सम्भावना छ । तर, त्यसको लागि थप समय भने कुर्नुपर्ने हुन्छ ।

टोयोटा ल्यान्ड क्रुजर एफजे

टोयोटाले फच्र्युनरभन्दा तलको सेग्मेन्टमा नयाँ बडी-अन-फ्रेम सी-सेग्मेन्ट एसयूभीका रूपमा ल्यान्ड क्रुजर एफजे ल्याउने तयारी गरेको छ । यो मोडल सन् २०२८ को अन्त्यतिर भारतीय बजारमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

ल्यान्ड क्रुजर एफजे ४६१० एमएम लामो, १८५५ एमएम चौडा र १८९० एमएम अग्लो हुनेछ । यसको ह्वीलबेस २५८० एमएम रहनेछ भने पाँच जना यात्रु बस्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय बजारमा यो एसयूभी २.७ लिटर पेट्रोल इन्जिन, १६४ एचपी पावर र २४५ एनएम टर्कसहित ६-स्पिड अटोमेटिक ट्रान्समिसन र पार्ट-टाइम फोर ह्वील ड्राइभ प्रणालीमा आउनेछ ।

नेपालका लागि किन महत्वपूर्ण ?

भारतमा सार्वजनिक हुने यी तीन नयाँ अफरोड एसयूभी महिन्द्रा थार, टोयोटा ल्यान्ड क्रुजर एफजे तथा हुन्डाईको नयाँ एसयूभी नेपालका लागि विशेष चासोका मोडल बन्न सक्छन् ।

नेपालको भौगोलिक अवस्था र सडक पूर्वाधारका कारण उच्च ग्राउण्ड क्लियरेन्स, बलियो सस्पेन्सन र फोर ह्वील ड्राइभ भएका एसयूभीको माग परम्परागत रूपमा रहँदै आएको छ ।

पछिल्लो समय भने अफरोडिङ, क्याम्पिङ र एड्भेन्चर टुरिजमको संस्कृति बढ्दै जाँदा यस्ता गाडीको बजार सम्भावना अझ विस्तार हुँदै गएको छ ।


Back_to_top