पहिलो पटक देखियो नयाँ कोना

काठमाडौं । हुन्डाईले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी कोनाको नयाँ जेनेरेशन मोडल ल्याउने तयारी गरेको छ । सन् २०२२ मा दोस्रो पुस्ताको कोना सार्वजनिक गरेको हुन्डाईले अब तेस्रो पुस्ताको कोना बजारमा ल्याउन लागेको हो ।

नयाँ कोना परीक्षण भइरहेको समयमा दक्षिण कोरियामा देखिएपछि यसको डिजाइन र आकारबारे थप जानकारी बाहिर आएको छ । बाहिरिएका तस्बिरअनुसार नयाँ कोना हालको मोडलभन्दा अग्लो, ठाडो र बडी रग्ड डिजाइनमा आउने देखिन्छ ।

यसको डिजाइनमा हुन्डाईको ‘क्रेटर’ कन्सेप्टबाट प्रेरित अफरोड शैली र आयोनिक ईभी परिवारको आधुनिक डिजाइनको मिश्रण देख्न सकिन्छ । नयाँ कोनामा हालको पुस्ताबाट निरन्तरता पाउँदै स्प्लिट हेडलाइट डिजाइन प्रयोग हुनेछ । मुख्य हेडलाइट युनिट पहिलेभन्दा सानो बनाइएको छ ।

बोनेटसँगै दिइएको फुल एलईडी लाइट बारलाई थप बाक्लो डिजाइन दिइएको छ । अगाडिको बम्पर पनि नयाँ आकारमा देखिन्छ भने ग्रिललाई तुलनात्मक रूपमा बन्द स्वरूपमा राखिएको छ ।

साइड प्रोफाइलमा भने ठूलो परिवर्तन गरिएको छ । हालको कोनामा देखिने बाहिरी प्लास्टिक क्ल्याडिङ हटाएर नयाँ मोडललाई सफा र आधुनिक लुक दिइएको छ । नयाँ ग्रीनहाउस, सिधा बेल्टलाइन र बडी ठाडो रियर डिजाइनले एसयूभीको सडक उपस्थितिलाई थप बलियो बनाउनेछ ।

आकारमा पनि बढ्ने सम्भावना

नयाँ हुन्डाई कोना हालको मोडलभन्दा केही ठूलो हुने अनुमान गरिएको छ । यसको लम्बाइ करिब ४ हजार ४३० मिलिमिटरसम्म पुग्न सक्ने चर्चा छ । हालको कोना करिब ४ हजार ३५० मिलिमिटर लामो छ भने हुन्डाई क्रेटाको लम्बाइ ४ हजार ३३० मिलिमिटर रहेको छ ।

आकार बढेसँगै नयाँ कोनाले युरोपेली बजारमा फक्सवागन टी-रक, टोयोटा सी-एचआर, होन्डा एचआर-भी र माज्दा सीएक्स-३० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने अनुमान छ ।

डिजिटल ककपिट र नयाँ इन्फोटेनमेन्ट

नयाँ कोनाको इन्टेरियरमा पनि महत्वपूर्ण परिवर्तन हुने अपेक्षा गरिएको छ । यसमा ठूलो स्क्रिनसहितको डिजिटल ककपिट र हुन्डाईको नयाँ इन्फोटेनमेन्ट प्रणाली उपलब्ध हुन सक्नेछ । गुगलको एन्ड्रोइडमा आधारित यो प्रणालीले कनेक्टेड कार अनुभवलाई थप आधुनिक बनाउनेछ ।

तर, हुन्डाईले सबै नियन्त्रणलाई टचस्क्रिनमा मात्र सीमित नगरी महत्वपूर्ण फङ्सनका लागि फिजिकल बटनलाई निरन्तरता दिने सम्भावना छ । नयाँ मोडलको आकार बढेसँगै यात्रु र सामान राख्ने स्थानमा समेत सुधार हुने अपेक्षा गरिएको छ ।

कोना र क्रेटा एउटै ग्लोबल मोडल बन्ने चर्चा

नयाँ कोनासँग जोडिएको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको हुन्डाईले कोना र क्रेटा लाइनअपलाई एउटै ग्लोबल मोडलमा एकीकृत गर्ने तयारी गर्नु हो । दुवै मोडल आकार र बजार स्थानका हिसाबले नजिक भएकाले कम्पनीले उत्पादन र विकास लागत घटाउन यस्तो रणनीति अपनाउन सक्ने अनुमान गरिएको छ ।

नयाँ जेनेरेशन हुन्डाई कोना अहिलेको भन्दा ठूलो र थप रग्ड डिजाइनमा देखिएको छ ।

यस्तै, जनरल मोटर्ससँग भएको सहकार्यअन्तर्गत नयाँ कोनाको प्लेटफर्म अर्को पुस्ताको शेभरोलेट ट्र्याकरसँग साझा हुन सक्ने रिपोर्टहरू पनि सार्वजनिक भएका छन् ।

ईभीदेखि हाइब्रिडसम्मका विकल्प

नयाँ कोना बजारअनुसार विभिन्न विकल्प उपलब्ध हुने अनुमान गरिएको छ । यसमा २.० लिटर नेचुरली एस्पिरेटेड, १.६ लिटर टर्बो र १.६ लिटर सेल्फ चार्जिङ हाइब्रिड इन्जिनका विकल्प आउन सक्नेछन् ।

हुन्डाईले पूर्ण विद्युतीय कोना ईभीलाई पनि निरन्तरता दिने छ । भविष्यमा रेन्ज एक्सटेन्डर प्रविधिसहितको संस्करणमा पनि यसलाई उतार्ने चर्चा छ ।

नयाँ पुस्ताको कोना र क्रेटाले आगामी केही महिनाभित्र औपचारिक ग्लोबल डेब्यु गर्ने र २०२७ मोडलका रूपमा विश्व बजारमा प्रवेश गर्ने अनुमान गरिएको छ ।


Back_to_top