काठमाडौं । चाडपर्व मुखमा आइपुगेको छ । सबैभन्दा धेरै गाडी बिक्री हुने समयको रूपमा चाडपर्वलाई लिने गरिन्छ ।
अहिले नेपालमा ५४ भन्दा धेरै ब्राण्डले कार बिक्री गर्दै आएका छन् । चीनका गल्ली गल्लीमा स्थापना भएका कार ब्राण्डहरू अहिले नेपाली बजारमा आएका छन् । अलिवावादेखि विभिन्न इकमर्श प्लेटफर्मबाटै किनेर ल्याइएका कारले उपभोक्ता ठगिन सक्ने खतरा पनि उत्तिकै छ ।
यति धेरै कुराको बीच तपाईंंले जीवनभर दुःख गरेर कमाएको पैसाले कुन ब्राण्डको गाडी किन्ने होला भन्ने अन्योलमा हुनुहुन्छ भने निम्न ६ कुरालाई ध्यानमा राख्नुहोला । जसले तपाईंंलाई स्मार्ट कार छनोट गर्न सहयोग पुग्ने छ ।
आवश्यकता
तपाईंको आवश्यकताले कस्तो, कत्रो र कुन बडी डिजाइनको कार किन्ने भन्ने कुरा निर्भर हुन्छ । यदि, सहरी क्षेत्रमा चलाउन पारिवारिक कार खोज्दै हुनुहुन्छ भने ह्याचब्याक कार ठिक हुन्छ ।
केही लामो दुरी यात्रामा निस्कनु छ भने एसयूभी छनोट उपयुक्त हुन्छ । यस्तोमा अफरोड लगायतका कुरा पनि आउँछन् । साथै, तपाईंको बजेट कति हो भन्ने कुराले पनि ब्राण्ड, मोडल र डिजाइन छनोटमा फरक पर्छ । ह्याचब्याक कारहरू केही सस्ता हुन्छन् । एसयूभी हो भने केही महँगो हुनसक्छ ।
अहिले प्राइसवारले ईभीमा ह्याचब्याकभन्दा पनि एसयूभी कम मूल्यमा किन्न पाइने अवस्था आइसकेको छ ।
ब्राण्ड र मोडल बारे बुझ्नुहोस्
ईभीमा अधिकांश ब्राण्ड नयाँ हुन् । ती ब्राण्डको अन्तर्राष्ट्रिय उपस्थिति हेर्न नछोड्नुस् । त्यसपछि आफ्नो बजेट भित्र आउने ५ मोडललाई सर्ट लिस्ट गर्नुहोस् । त्यसरी छानिएका ५ मोडल बीच तुलना गर्दा राम्रो हुन्छ ।
खासगरी, गाडी दिने रेन्ज, ब्याट्री साइज, चार्जिङ अवधि, स्पेश र मोर्डन फिचर बीच तुलना गर्नुपर्छ । यसरी तुलना गरेको खण्डमा पछि पछुताउनु पर्दैन ।
टेस्ट ड्राइभ
विभिन्न ब्राण्डका छनोट भएका ५ मोडलको टेस्ट ड्राइभ अनिर्वाय रूपमा गर्नुहोस् । यसरी गरिने टेस्ट ड्राइभ कम्तीमा ५/१० किलोमिटर गर्नुहोला । सेल्सम्यानसँग गाडीको बारे जानकारी दिनु फाइदाजनक हुन्छ ।
स्कीम त झनै ध्यान दिनु
विभिन्न कम्पनीले गाडी बिक्री गर्न चाडपर्व लक्षित स्कीम लगाएका छन् । स्कीम लिँदा ७÷८ लाखसम्म फरक पर्ने अवस्था छ । साथै, एक्सचेन्ज बोनस, लोयल्टी बोनस, बीमा, सवारी कर जस्ता कुरामा पनि कम्पनीले छुट दिँदै आएका छन् । अझ, ट्राभल वा वाल चार्जरको विषयमा पनि प्रष्ट हुनुहोला ।
कर्जा सुविधा
गाडी बेच्ने कम्पनीको जस्तै गाडी कर्जा दिने बैंकहरू बीच पनि ब्याजदरको प्रतिस्पर्धा नै चलेको छ । अहिले ब्याजदर पनि निकै कममा पाइन्छ । त्यसैले सकभर ५ वा ७ वर्षको लागि स्थिर ब्याजदरमा कर्जा लिनु वुद्धिमानी हुन्छ ।
बिक्रीपछिको सेवा
नेपालमा सबैभन्दा धेरै समस्या देखिएकै गाडीको बिक्रीपछिको सेवा हो । त्यसैले आयातकर्ता कम्पनीको विगत, अनुभव र सर्भिस नेटवर्कको विषयमा सोधपुछ गर्नु राम्रो हुन्छ । साथै, पार्टसको उपलब्धता पनि निकै महत्वपूर्ण मानिन्छ ।

