दोब्बरले बढ्यो लाइसेन्सको आवेदन, नवीकरण र वर्ग थप दस्तुर, कति पुग्यो ?

काठमाडौं । कोशी प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बनधी सम्पूर्ण दस्तुर दोब्बरले बढाएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याएको ‘आर्थिक विधेयक २०८३’ मार्फत लाइसेन्सको आवेदन, नवीकरण र वर्ग थप दस्तुर दोब्बरले बढाएको हो ।

हाल सबै वर्गका सवारीको लाइसेन्सको आवेदन दिँदा ५०० रुपैयाँ दस्तुर लाग्ने व्यवस्था छ । आगामी आवदेखि १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

त्यस्तै, प्रदेश सरकारले नयाँ लाइसेन्स र नवीकरण दस्तुर दोब्बरले बढाएको छ । हाल ए/के वर्ग (मोटरसाइकल/स्कुटर)को नयाँ लाइसेन्स लिँदा र नवीकरण गर्दा १५०० रुपैयाँ तिर्नुपर्छ । आगामी आवदेखि भने ३ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै, हाल कार, जीप, भ्यान (बी), टेम्पो, अटोरिक्सा (सी), ई-रिक्सा (सी १) र पावर ट्रिलर डी) वर्गका लाइसेन्सको २ हजार रुपैयाँ तिर्नुपर्थ्यो भने साउनदेखि ४ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

त्यसैगरी, अब ट्याक्टर (ई), मिनिबस, मिनि ट्रक (एफ)को लाइसेन्सको ५ हजार रुपैयाँ तिर्नुपर्नेछ । हाल २५०० रुपैयाँ तिर्नुपर्थ्यो ।

त्यस्तै, ट्रक, बस, लहरी (जी), रोडरोलर, डोजर (एच), क्रेन दमकल, लोडर (आइ) र एस्काभेटर, ब्याकहो लोडर, गर्डर लगायत (जे)को लाइसेन्स लिँदा र नवीकरण गर्दा ६ हजार रुपैयाँ तिर्नुपर्नेछ । हाल ३ हजार रुपैयाँ तिनुपर्छ ।

सबै वर्गको सवारीको नयाँ वा नवीकरण हुने लाइसेन्सको म्याद भने १० वर्षको हुनेछ ।

वर्ग थपको दस्तुर पनि दोब्बरले बढेको छ । हाल वर्ग ‘ए’देखि ‘एफ’सम्मको वर्ग थप दस्तुर ५०० रुपैयाँ रहेकोमा अब १ हजार रुपैयाँ लाग्नेछ । त्यस्तै, वर्ग ‘जी’देखि ‘जे’सम्मको २ हजार रुपैयाँँ तिर्नुपर्नेछ । हाल १ हजार रुपैयाँ छ ।


Back_to_top