काठमाडौं । टाटा मोटर्सले आगामी ५ वर्ष भित्र ६ वटा नयाँ नेमप्लेटसहित २० भन्दा बढी मोडल बजारमा ल्याउने योजना अघि सारेको छ ।
लगानीकर्ता शिखर सम्मेलनमा टाटा मोटर्सले आर्थिक वर्ष २०३१ सम्ममा आफ्नो उत्पादन लाइनअप ९ नेमप्लेटबाट १५ वटा पुर्याउने खुलासा गरेको हो ।
साथै, कम्पनीले बिक्रीमा दोहोरो अंकको वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । जसका लागि नयाँ मोडेल, फेसलिफ्ट र पावरट्रेन थप्ने लक्ष्य राखेको छ ।
टाटाले हाल वार्षिक ६.४ लाख प्यासेन्जर सवारी बिक्री गर्दै आएको छ । आर्थिक वर्ष २०३१ सम्ममा त्यसलाई बढाएर वार्षिक १२ लाख युनिटभन्दा बढी पुर्याउने महत्वकांक्षी लक्ष्य राखेको हो ।
टाटा मोटर्स भारतीय बजारका लागि आफ्नो उत्पादन रणनीतिलाई लिएर निकै आक्रामक बन्दै गइरहेको छ । कम्पनीले सन् २०३१ सम्म भारतीय प्यासेन्जर कार सेग्मेन्टमा आफ्नो हिस्सा १८/२० प्रतिशत पुर्याउने लक्ष्य राखेको हो । उक्त लक्ष्य हासिल गर्न ६ वटा विल्कुलै नयाँ नेमप्लेटसहित २० नयाँ मोडल ल्याउने भएको हो । यस क्रममा कम्पनीले हाल बिक्री भइरहेका मोडलहरुको फेसलिफ्ट ल्याउने छ ।
टाटा मोटर्सले आफ्नो आइस पोर्टफोलियोमा पनि ६ वटा नयाँ नेमप्लेटहरू थप्नेछ। ‘अभिन्या’ नेमप्लेटले निकट भविष्यमा आइस संस्करण पनि पाउन सक्नेछ । यसबाहेक, टाटा ‘सुमो’ नेमप्लेट बजारमा ७ सिटको एमपीभीको रूपमा आउन सक्छ ।
त्यस्तै, कम्पनीले ‘स्कार्लेट’ कोडनेम राखिएको नयाँ सब फोर मिटर एसयूभी पनि विकास गरिरहेको छ । जसलाई लाइफस्टाइल गाडीको रूपमा बजारमा ल्याइनेछ। यसले रेनो ब्रिड्जर र महिन्द्रा भिजन एस जस्ता गाडीहरूसँग प्रतिस्पर्धा गर्नेछ।
दोेहोरो अंकको वृद्धि हासिलमा वैकल्पिक इन्धनको ठूलो हिस्सा हुने टाटाको अपेक्षा छ । २०३१ सम्ममा टाटाको कुल बिक्रीमा ईभीको हिस्सा १५/२० प्रतिशत पुग्ने प्रक्षेपण छ । कम्पनीले आगामी ५ वर्षमा बजारमा ४ वटा नयाँ ईभी नेमप्लेटहरू ल्याउने लक्ष्य राखेको छ।
टाटाले आफ्नो वृद्धिमा सीएनजीले पनि ठूलो योगदान दिने अपेक्षा गरेको छ । आर्थिक वर्ष २०३१ सम्ममा ब्राण्डको झन्डै ४५ प्रतिशत हिस्सा ईभी र सीएनजी गाडीहरूले ओगट्ने प्रक्षेपण गरिएको छ।
टाटा मोटर्सले आगामी २/३ वर्षमा आफ्नो वार्षिक उत्पादन क्षमता करिब ९ लाख युनिटबाट बढाएर १३ लाख युनिट पुर्याउने लक्ष्य राखेको छ। यो लक्ष्य हासिल गर्न कम्पनीले करिब ४०,००० करोड रुपैयाँ लगानी गर्नेछ।


