सेकेण्ड ह्याण्ड किन्न पर्ने मूल्यमै नयाँ रेन्ज रोभर !

काठमाडौं । तपाईंलाई सुन्दा अचम्म लाग्ला । तर, चीनमा लग्जरी क्रसओभर एसयूभी नयाँ रेन्ज रोभर इभोक एलको मूल्य सेकेण्ड ह्याण्ड गाडी हाराहारीमै आएको छ ।

चिनियाँ बजारमा रेन्ज रोभर इभोक एलको मूल्य एकैपटक आधाभन्दा धेरै अर्थात् ५३.४६ प्रतिशतले घटेको हो । चीनका स्थानीय डिलरहरूका अनुसार सुरुमा ६३ हजार ४९० अमेरिकी डलर पर्ने यो लग्जरी कार अहिले २९ हजार ५४५ डलरमै पाइने भएको हो । यसको मूल्य एकैपटक ३३ हजार ९४५ डलर (करिब ४५ लाख रुपैयाँ) घटेको हो ।

अहिले कायम नयाँ रेन्ज रोभर इभोक एलको मूल्य यसअघि सेकेण्ड ह्याण्ड इभोक एलको जति नै हो । सन् २०२५ मा चीनमा सेकेण्ड ह्याण्ड इभोक एलको औसत मूल्य करिब २८ हजार २७५ डलर थियो ।

यसरी एकाएक मूल्य घट्नुको कारण भने उत्पादक कम्पनीको व्यवसायिक रणनीति हो । चीनको प्रतिष्ठित अटो कम्पनी चेरी र ज्यागुआर ल्यान्ड रोभर (जेएलआर)ले सन् २०१२ देखि साझेदारी गर्दै आएका थिए । तर, पछिल्लो समय रेन्ज रोभरको बिक्रीमा भारी गिरावट आइरहेको थियो ।

घट्दो बजारलाई पुनः आफ्नो कब्जामा लिन कम्पनीले अब आफ्नो नयाँ ब्राण्ड ‘फ्रिल्यान्डर’ मा ध्यान केन्द्रित गरेका छन् । सन् २०२६ को अन्त्यसम्ममा चीनमा रहेको प्लाण्टबाट इभोक एल लगायतका पुराना मोडलहरूको उत्पादन पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन् । सोही कारण डिलरहरले स्टक क्लियरेन्स गर्न मूल्य आधा घटाएका हुन् ।

रोचक कुरा त के छ भने यो गाडी बेलायतको बजारमा पाइने स्ट्यान्डर्ड रेन्ज रोभर इभोकभन्दा पनि आधा सस्तो भएको छ। बेलायतमा यसको सुरुवाती मूल्य ५८ हजार ७९५ डलर पर्छ, जबकि चीनमा यो त्योभन्दा धेरै कम मूल्यमा उपलब्ध छ ।

रेन्ज रोभर इभोक एलमा २ लिटर पेट्रोल इन्जिन रहेको छ । जसले २४५ हर्सपावर शक्ति प्रदान गर्छ । यसको लम्बाइ ४५३१ एमएम, चौडाइ १९०४ एमएम र उचाइ १६५० एमएम छ । यसमा २,८४१ एमएम लामो ह्वीलबेस छ ।


Back_to_top