२१ लाख थान लाइसेन्स छपाइ सकियाे, अब कति बाँकी छन् ?

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले क्यूआर कोडसहितको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ तीव्र बनाएको छ ।

गत कात्तिक २१ गतेदेखि छपाइ सुरू गरेको केन्द्रले हालसम्म झण्डै २१ लाख थान लाइसेन्स छापिसकेको हो । केन्द्रका अनुसार हाल (बुधबार)सम्म २० लाख ९० हजार ८२ थान लाइसेन्स छपाइ सकिएको हो ।

केन्द्रले पछिल्लो दुई महिनामा मात्रै झण्डै ९ लाख थान लाइसेन्स छपाइ गरेको हो । कात्तिक २१ देखि वैशाख १२ गतेसम्म १२ लाख थान लाइसेन्स छापेको केन्द्रले त्यसयताको दुई महिनामा थप ९ लाख लाइसेन्स छापेको हो ।

केन्द्रका अनुसार हालसम्म ४२ हजार ६३ वटा आपतकालीन, २ लाख ५६९ दैनिक प्रिन्ट र १८ लाख ४७ हजार ४५० थान ब्याकलग लाइसेन्स प्रिन्ट गरिएको छ ।

त्यस्तै, थप १ लाख ३० हजार ७ वटा लाइसेन्स छपाइको प्रक्रियामा रहेको केन्द्रले जनाएको छ । यातायात व्यवस्था विभाग र केन्द्र बीच दुई चरणमा गरी कुल २९ लाख थान लाइसेन्स छपाइको सम्झौता भएको छ । केन्द्रका अनुसार पहिलो चरणको सम्झौता अनुसारको लाइसेन्स समयमै सम्पन्न गरी हाल धमाधम दोस्रो चरणका लाइसेन्स छपाइ भइरहेको छ ।

हालसम्म २१ लाख थान छपाइ भइसकेकाले अब ६ लाख ७९ हजार ९११ थान मात्र छाप्न बाँकी रहेको केन्द्रले जनाएको छ । त्यसमा पनि विभागले १ वर्षभन्दा कम म्याद भएका लाइसेन्स नछाप्ने बताएको छ । त्यसो हुँदा छाप्नुपर्ने लाइसेन्सको संख्या अझै कम हुनेछ । हाल दैनिक ४० हजार लाइसेन्स प्रिन्ट भइरहेकाले उक्त लाइसेन्स सम्झौता अनुसार यही असार मसान्त भित्रै छापिसकिने केन्द्रको भनाइ छ ।

विभाग र केन्द्र बीच पहिलो चरणमा २०८२ कात्तिक १२ गते ६ महिना भित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भएको थियो । त्यस्तै, दोस्रो चरणमा वैशाख ४ गते थप १७ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो ।


Back_to_top