हरिसिद्धीमा मन्त्री सवार गाडीले बालिकालाई दियो ठक्कर

काठमाडौं । ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिलामन्त्री मन्त्री रामबहादुर मगर सवार गाडीले एक बालिकालाई ठक्कर दिएको छ।

शनिबार बिहान करिब सवा ७ बजेतिर ललितपुर महानगरपालिका-२८ कटिखेलस्थित हरिसिद्धी मावि अगाडि को १ झ ६९९ नम्बरको सरकारी गाडीले जेब्राक्रसिङमै ११ वर्षीया बालिका उषा सुनुवारलाई ठक्कर दिएको हो।

उक्त गाडी ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले)को विधान महाधिवेशनतर्फ गइरहेको थियो । घाइते बालिकाको अहिले ललितपुरको बीएण्डबी अस्पताल उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

मन्त्रीको गाडीले जेब्राक्रसिङमै ठक्कर दिएपछि आक्रोशित स्थानीयले सातदोबाटो-गोदावरी सडक अवरुद्ध गरेका छन् । अहिले सडक खुलाउने बारेमा छलफल भइरहेको छ ।


Back_to_top