काठमाडौं । विगतका वर्षहरूमा चाडपर्वको मुखमा अटोमोबाइल बजार गुलजार बन्थ्यो । गाडी शोरुमहरूमा ग्राहकको भीड लाग्थ्यो । बिक्रेताहरू पनि ग्राहक तान्न र गाडी बेच्न व्यस्त हुन्थे ।
दशैं तिहार जस्ता चाडपर्वलाई अटो बजारको मुख्य सिजन मानिन्छ । व्यवसायीले वर्षभरीको झन्डै आधार व्यापार यही बेला गर्छन् । समग्रमा अटोमाबाइल भाइब्रेन्ट हुन्थ्यो ।
तर, यस वर्ष भने अवस्था निकै फरक छ । मुख्य सिजनमै अटो बजार समस्याग्रस्त बनेको छ । व्यापार गर्ने बेलामा सवारी बिक्रेता विभिन्न समस्या सामान गर्न बाध्य भएका छन् । हैरानी खेप्नु परेको छ ।
छैन गाडी बेच्ने शोरुम समेत
भदौ २३ र २४ गते भएको आन्दोलनका कारण देशभरका दर्जनौं गाडी शोरुममा आगजनी र तोडफोड गरियो । जसकारण व्यवसायीले करोडौं रुपैयाँ क्षति व्यहोर्नुपर्यो ।
अटो हब मानिने थापाथली क्षेत्र अहिले सुनसान देखिन्छ । अधिकांश शोरुममा आगलागीबाट खण्डहर बनेका छन् । थापाथलीमा रहेको मारुती सुजुकी, महिन्द्रा, टाटा, एक्सपेङ, एवोन ब्राण्डको शोरुम जलाइएको छ भने हुन्डाई, सिट्रोन लगायतका शोरुम तोडफोड भएको छ ।

गाडी बेच्नुपर्ने सिजनमा व्यवसायीहरू शोरुम पुनर्निमार्ण जुट्नुपर्ने अवस्था छ । शोरुम निर्माण गर्न समय लाग्ने भएकाले व्यापार सिजनको व्यापार समेत प्रभावित बनेको छ ।
अर्कोतर्फ व्यवसायीको मनोवल समेत गिरेको छ । राज्यले सुरक्षा दिन नसक्दा करोडौं नोक्सानी व्यहोरेका व्यवसायी ढुक्कले थप लगानी गर्ने मोडमा छैनन् ।अहिलेको तरल राजनीतिक अवस्थाको कारण देशको अवस्था अब कस्तो होला भन्ने सबैमा चिन्ता देखिन्छ ।
अर्डर लिएकै गाडी डेलभरी दिन नसक्ने चिन्ता
विगत २/३ वर्ष अटो व्यवसायी व्यापार नभएर चिन्तित थिए । अर्थतन्त्र शिथिल हुँदा बिक्री आधाभन्दा धेरैले घटेको थियो । तर, पछिल्लो समय अटोबजार क्रमशः तंग्रिँने प्रयास गर्दै छ । अघिल्ला वर्षहरूको तुलनामा सवारी साधन आयत र बिक्री दुवै बढ्दो क्रममा छ ।
गत साउन र भदौमा सम्पन्न नाइमा र नाडा अटो शोमा हजारौं संख्यामा सवारी बुकिङ समेत भएका छन् । तर, व्यवसायी अहिले तिनै बुकिङ भएका गाडी डेलभरी गर्न नसकेर व्यापार गुमाउनुपर्ने चिन्तामा छन् ।
भारतबाट गाडी ल्याउने बिक्रेतालाई खासै समस्या नभए पनि चीनबाट आयात गर्नेहरू समस्यामा परेका हुन् । हाल नेपालमा आयात हुने झन्डै ६५ प्रतिशत कार चीनबाट आयात हुन्छ । तर, गत २ महिनादेखि चीनबाट गाडी ल्याउने रसुवागढी र तातोपानी दुवै नाका बन्द छ । जसकारण बिक्रेताहरूले माग अनुसारको गाडी ल्याउन सकेका छैनन् ।हजारौं गाडी बीच बाटोमै अड्किएका छन् ।
रसुवागढीमा बाढीले बगाएको १३०० मिटर सडकमध्ये अझै २०० मिटर ट्रयाक खोल्न बाँकी छ । चीनले बेलिब्रिज बनाइ रहे पनि अझै केही साता लाग्ने देखिन्छ । त्यस्तै, तातोपानीको इकुमा करिब १०० मिटर क्षेत्रमा पहिरो झरिरहन्छ ।

रसुवागढी र तातोपानीको विकल्पमा केही व्यवसायीले कोरला नाकाबाट सवारी ल्याउन थालेका छन् । तर, यताबाट गाडी ल्याउन सहज भने छैन । यसअघि तातोपानी र रसुवागढीबाट ल्याउन लोड गरिएका गाडी बीच बाटोमै छ । अब डाइभर्ट गरेर कोरला लैजाँदा ढुवानी लागत र समय दुवै बढ्छ ।
‘राज्यविहीनताको अनुभूत गरेका छौं’
अटो व्यवसायीहरू अहिले आफूहरूले राज्यविहीनताको अनुभ गरिरहेको बताउँछन् । एकातिर सम्पत्तिको सुरक्षा नभएको र अर्कोतर्फ सडककै कारण गाडी ल्याउन समेत नसकेको उनीहरूको भनाइ छ ।
चीनबाट गाडी ल्याउने दुवै सडक २ महिनादेखि बन्द हुँदा पनि राज्यले चासो नदेखाएको उनीहरूको गुनासो छ । ‘रसुवागढी र तातोपानी सडक बन्द भएको २ महिना भयो । सरकारले अहिलेसम्म खुलाएको छैन । खुल्ला भनेर कुर्दाकुदै २ महिना बितसक्यो । गाडी ल्याउनै सकिएको छैन । राज्य भएकाे भए यत्राे समयमा सडक बन्थ्याे हाेला, ’ एक व्यवसायीले मेरोअटोसँग भने, ‘सिजनमा मुख सुकाएर बस्नु परेको छ । अटो शोमा बुकिङ भएका गाडी डेलिभरी दिन सक्ने अवस्था छैन । व्यवसाय चौपट भएको छ ।’
केही व्यवसायीले तातोपानी र रसुवाको विकल्पमा कोरलाबाट गाडी ल्याउन थाले पनि सहज नभएको उनले बताए । ‘दशैं आइसक्यो । हाम्रा गाडी बीच बाटोमै छन् । अब डाइभर्ट गरेर कोरलाबाट ल्याउन पनि सहज छैन । ढुवानी खर्च कयौं गुणा महँगो पर्छ । समय पनि धेरै लाग्छ,’ उनले भने ।
त्यस्तै, आन्दोलनबाट अटो क्षेत्रले धेरै नोक्सानी व्यहोर्नुपरेको र अब पनि के हुन्छ भन्ने टुंगो नभएकाले ढुक्कसँग व्यवसाय गर्न नसक्ने वातावरण नरहेको उनको भनाइ छ ।

