काठमाडौं । यातायात व्यवस्था कार्यालय अन्तर्गतका सबै सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परेका छन् । हिजोदेखि लाइसेन्सको सर्भरमा समस्या आएपछि कसैले लाइसेन्स पाउन सकेका छैनन् । लाइसेन्सका लागि आवेदन दिन जाने समेत बुझाउन नपाएपछि त्यसै फर्कनु गरेको छ ।
यसरी सर्भरमा समस्या आएपछि लाइसेन्सका लागि लाइन लागेकाहरु फर्किनु पर्ने अवस्था आएको छ । लाइसेन्सको सर्भर हिजोदेखि डाउन भएको लाइसेन्सका सबै काम रोकिएको एकान्तकुना लाइसेन्स कार्यालयले जनाएको छ ।
लाइसेन्स सर्भरको सिस्टमै समस्या भएका कारण सर्भर डाउन भएको एकान्तकुना कार्यालय प्रमुख तेजप्रसाद उप्रेतीले बताए । ‘सिस्टममा हिजोदेखि समस्या देखिएको हो,’ उनले भने, ‘सर्भर मिलाउन लागि परेका छौं, भोलीबाट सञ्चालनमा आउनेछ ।’
९ बजेदेखि लाइनमा बसेका सेवाग्राहीलाई कार्यालले १ बजेपछि सफ्टवेर बिग्रियो भन्दै फर्काएको थियो । लाइन लागेका सेवाग्राहीलाई कहीले खुल्छ भन्ने कुनै जानकारी नदिएको सेवाग्राहीको गुनासो छ ।
सिस्टममा देखिएको समस्याका कारण सेवाग्राहीमा समस्या परेको उप्रेतीले बताए । लाइसेन्सका सबै कार्यालयमा समस्या आएकाले हजारौं सेवाग्राही मर्कामा गरेका छन् । लाइसेन्सको सर्भरमा समस्या आएको यो पहिलो पटक भने होइन ।

