कारमा हुने फिचर भएको डबल पर्पस इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर निर्माता अल्ट्राभोइलेटले डबल पर्पस एड्भेन्चर डिजाइनको नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा एक्स-४७ नामक क्रसओभर इलेक्ट्रीक मोटरसाइकल डबल पर्पस एड्भेन्चर डिजाइनमा सार्वजनिक गरेको हो । अल्ट्राभोइलेटले यसलाई एक्स-४७, ओरिजिनल, रिकन र डेजर्ट विङ गरी चार भेरियन्टमा उपलब्ध गराएको छ ।

अल्ट्राभोइलेटले मोटरसाइकलको सुरूवाती मूल्य २ लाख ७४ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेर बुकिङ खुला गरेको हो । यो मोटरसाइकल बुकिङ गर्ने पहिलो १ हजार जना ग्राहकले भने २ लाख ४९ हजार रुपैयाँमै मोटरसाइकल पाउने कम्पनीले बताएको छ ।

कम्पनीको आधिकारिक वेबसाइटबाट एक्स-४७, ९९९ भारु र अन्य भेरियन्ट ४ हजार ९९९ भारुमा ग्राहकले बुकिङ गर्न सक्ने छन् । मोटरसाइकलको डेलिभरी अक्टोबर २०२५ देखि सुरू हुने छ ।

नयाँ क्रसओभर एउटा साहसिक एड्भेन्चर डिजाइन शैलीमा छ । यसमा अल्ट्राभोइलेट एफ–७७ कै जस्तो हेडलाइट र अन्य इलेमेन्सहरू प्रयोग भएको छ । साथै, ठूलो विन्डस्क्रीन, नकल गार्डसहितको अग्लो ह्याण्डलबार सेटअप, सिंगल पिस सिट, अप्सनल एशेसरिज, साइडलाइटहरू र पेनियरले मोटरसाइकल टुरिङ र अफरोडका लागि धेरै उत्कृष्ट रहेको देखिन्छ ।

अल्ट्राभोइलेट एक्स-४७ मा कम्पनीले दुई क्यामेराहरू पनि दिएको छ । यसलाई अगाडि र पछाडि सेटअप गरिएको छ । क्यामाराले ड्यासक्यामको रूपमा काम गर्ने र यसले एडास फंसनलाई समेत सहयोग पुर्याउने छ । रियर क्यामाराले पार्क असिस्टको रूपमा काम गर्ने छ ।

निकै एड्भान्स टेक्नोलोजीमा निर्माण गरिएको मोटरसाइकलमा हाइपरसेन्स नामक राडार असिस्टेड सिस्टम र एडास फिचर दिइएको छ । यसले चालकलाई निकै सहायता प्रदान गर्छ ।

राडर सिस्टमले पछाडि एरियाको सबै जानकारी विस्तृत रूपमा दिने काम गर्छ । जस्तै ब्लाइन्ड स्पट निगरानी, पछाडिको टक्कर चेतावनी, लेन परिवर्तन अलर्ट, र ओभरटेकिङ सहायता जस्ता सुविधाहरूलाई सक्षम बनाउँछ । राडार सिस्टमले पछाडि मात्र काम गर्छ र यो सबै भेरियन्टहरूमा छ । तर क्यामेराहरू भने सेलेक्टेट भेरियन्टमा मात्रै दिइएको छ ।

मोटरसाइकलमा स्विच गर्न मिल्ने डबल च्यानल एबीएस, ४ लेभलको ट्रयाक्सन कन्ट्रोल, धेरै कुराको डिटेल्स हेर्न सकिने डबल डिस्प्ले, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, हिल होल्ड असिस्ट, डाइनामिक स्ट्याबलिटी कन्ट्रोल सिस्टम पनि छ । यी सबै सिस्टम डिस्प्लेमा सहजै कन्ट्रोल गर्न सकिने छ ।

स्टील ट्रेलिस फ्रेम र कास्ट आल्मिुनियम सबफ्रेममा निर्माण भएको अल्ट्राभोइलेट एड्भेन्चर ईभी मोटरसाइकलमा प्रिलोड एड्जस्टेबल इन्भर्टेड फर्क र मोनोसक सस्पेन्सन सेटअप, ब्रेम्बो डिस्कब्रेक, १७ इन्च अलोय ह्वील र डबल पर्पस ट्युबलेस टायर दिएको छ ।

नयाँ क्रसओभर मोटरसाइकलमा कम्पनीले ३० किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । यसले ६१० एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १४५ किलोमिटर प्रतिघण्टा छ, यसले मात्र २.७ सेकेण्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ।

यसको रिकन र डेजर्ट विङ भेरियन्ट १०.३ किलोवाट आवरको ब्याट्रीप्याकमा छ । यसले एकपटकको फुलचार्जमा ३२३ किलोमिटरसम्म रेन्ज दिने छ । त्यस्तै, अन्य दुई भेरियन्टमा भने ७.१ किलोवाट आवरको ब्याट्री छ । यसको रेन्ज २११ किलोमिटर रहेको छ । यो ब्याट्री बीएमसी (ब्याट्री व्यवस्थापन प्रणाली) मा पेटेन्ट गरिएको पाँच स्तरको सुरक्षा प्रणाली मेकानिकल, थर्मल, इलेक्ट्रीकल, इलेक्ट्रोनिक र सफ्टवेयर सुरक्षाको साथ आउँछ।

कम्पनीले मोटरसाइकलमै पहिलो पटक १.६ किलोवाटको अनबोर्ड एयर कुल्ड प्रोटेक्टिभ चार्जरको प्रयोग गरेको छ । यसको चार्जर मोबाइलहरूमा पाइने चार्जर जस्तै एकदमै हलुका छ । यसको मतलब भारी चार्जर बोक्नु पर्दैन । यसमा बोक्न पर्ने भनेको चार्जिङ केबल मात्र हो, जुन सजिलै खल्तीमा फिट हुन्छ।


Back_to_top