काठमाडौं । नेपाली बजारमा मोटरसाइकल भन्ने बित्तिकै बजाज, होन्डा, यामाहा, टीभीएस, बुलेट (रोयल इनफिल्ड), हिरो जस्ता ब्राण्डको नाम लिइन्छ । दशकौंदेखि बिक्री हुँदै आएका तथा बाक्लो संख्यामा सडकमा गुड्ने भएको कारण सबैको नजरमा यी ब्राण्ड परेका हुन् ।
माथि चर्चा गरिएका बाहेक पनि अन्य धेरै ब्राण्ड नेपालमा बिक्रीको लागि उपलब्ध छन् । उनीहरूले बिक्री गर्ने खासखास मोडलले बजारमा प्रभाव जमाउन पनि सफल भएका छन् । केही ब्राण्डहरू आएर पनि केही समयपछि बन्द हुँदै गए ।
बजाज, होन्डा, यामाहा, टीभीएस, रोयल इनफिल्ड, हिरो बाहेकका ब्राण्डले बिक्री गर्ने मोटरसाइकल नम्बरको हिसाबमा कम बिक्री भए पनि निरन्तरको मिहिनेत र बिक्रीपछिको सेवाको कारण आफ्नो अलग पहिचान बनाउन सफल छन् ।
ब्रिटिस ब्राण्ड ट्रायम्फ त्यसको गतिलो उदहारण हो । बिक्री सुरू भएको छोटो समयमा नै ट्रायम्फले राम्रो व्यापार गर्न सफल भएको छ । ट्रायम्फका उत्पादन हंशराज हुलाश चन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको छ । हंशराज हुलाश चन्द एण्ड कम्पनी बजाज मोटरसाइकलको पनि आयाताकर्ता हो ।

बजाजको बिक्रीबाट आर्जित विश्वसनियता र ट्रायम्फ आफैँमा अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड भएकाले सफल भएको मान्न सकिन्छ । त्यसलाई ट्रायम्फ नेपालका मेनेजर सागर थापा पनि स्वीकार गर्छन् । उनी भन्छन्, ‘हंशराज हुलाश चन्द एण्ड कम्पनी प्रतिको विश्वास र ट्रायम्फको लेजेन्डरी ब्राण्डले धेरैलाई तान्यो । अर्को कुरा मूल्य पनि महत्वपूर्ण भयो । मिड साइज सेग्मेन्टको मोटरसाइकलसँग सिधा प्रतिस्पर्धा गर्दा कम्पनीलाई फाइदा पुग्यो ।’
कम्पनीले आफ्टर सेल्स र उपभोक्ताको सन्तुष्टिलाई केन्द्रमा राखेर काम गरेको बताउँदै थापा भन्छन्, ‘हरेक शो?ममा थ्री एस सेवा उपलब्ध छ । प्रिमियम क्लालिटिको सर्भिस र क्लालिटी राइड आयोजना गरेर ग्राहकसँग जोडिएका छौं । त्यसले हामीलाई बलियो ब्राण्डको रूपमा स्थापित गरेको हो ।’

थापाकै जस्तो बुझाई सीएफ मोटो मोटरसाइकल बिक्री गर्ने ऋषि ट्रेड सेन्टरका जेनेरल मेनेजर उज्जल जोशीको पनि छ । क्वालिटी प्रोडक्ट र गुणस्तरीय सेवा दिने हो भने एउटै मोडलले पनि ब्राण्ड स्थापित गराउन सकिने उनको दाबी छ ।
सीएफ मोटोको सबैभन्दा चर्चा पाएको मोटरसाइकल ४५० एमटी हो । एड्भेन्चर टूरर सेग्मेन्टको मोटरसाइकल बिक्री गर्ने कम्पनीसँग अन्य २०० सीसीदेखि ४५० सीसीसम्मका नेकेड स्पोर्टसदेखि स्पोर्टस मोटरसाइकलसम्म उपलब्ध छन् ।
समय सापेक्ष उत्पादनलाई अपग्रेड गर्दै लगेको अगाडि बढेको बताउँदै जोशी भन्छन्, ‘सीएफ मोटो एक अन्तर्राष्ट्रिय ब्राण्ड मात्र होइन एड्भेन्चर सेग्मेन्टमा विश्वव्यापी २१ प्रतिशतको ग्रोथ पाएको ब्राण्ड हो । हाम्रा ग्राहकले ४५० एमटी निकै रूचाएका छन् । अन्य मोडलहरू २५० एनके, ३०० एनके र ४५० आरएस पनि ग्राहकको नजरमा पर्न थालेका छन् । यसले सिएफ मोटोलाई बलियो ब्राण्डका रूपमा उभ्याएको छ ।’
ऋषि ट्रेड सेन्टरले आफ्नो सर्भिसमा फोकस भएका काम गर्दै गएको र प्रिमियम क्वालिटीका मोडलहरू बजारमा ल्याउँदै जाने योजना रहेको जोशीले बताए ।
केटीएम मोटरसाइकलका उत्पादन पनि लामो समयदेखि मिड साइज प्रिमियम सेग्मेन्टमा बलियो छन् । नेकेड स्पोर्टस् र एड्भेन्चर सेग्मेन्टमा बलियो उपस्थिति जनाएको ब्राण्डले अहिले एन्ड्यूरो मोटरसाइकल पनि उपलब्ध गराएको छ । यसले ब्राण्डलाई अझ बलियो बनाउने कम्पनीको विश्वास छ ।
त्यस्तैगरी, कुनै बेलाको टप ५ ब्राण्ड भित्र रहेको सुजुकीले अपेक्षित व्यापार गर्न सकिरहेको छैन । बेनेली, जोङसेन, जोन्टेस ब्राण्डको अवस्था भने दयनिय छ ।

