काठमाडौं । विशेषगरी नयाँ र स्टार्टअप चिनियाँ कार निर्माता कम्पनीहरूलाई सन् २०२५ को सुरूवातमा लिएको बिक्री लक्ष्य भेट्टाउन कठिन देखिएको छ । अक्टोबर महिनासम्मको बिक्रीको आधारमा तीन कम्पनी बाहेक अन्य ब्राण्डले लक्ष्य भेट्टाउने देखिँदैन ।
राखिएको वार्षिक बिक्री लक्ष्य अनुसार १० महिनामै पूरा गर्ने कम्पनी एक्सपेङ बनेको छ । एक्सपेङले सन् २०२५ मा ३ लाख ५० हजार युनिट कार बिक्री गर्ने लक्ष्य लिएको थियो । कम्पनीले १० महिनामै ३ लाख ५५ हजार २०९ युनिट कार बिक्री गर्न सफल भएको हो । कम्पनीले लक्ष्यको १०१.५ प्रतिशत बिक्री हासिल गरेको देखिन्छ ।
लीपमोटरले एक वर्षमा ५ लाख कार बिक्री गर्ने लक्ष्य लिएको थियो । कम्पनीले १० महिनामै ४ लाख ६५ हजार युनिट कार बिक्री गर्दै आफ्नो लक्ष्य पूरा गर्ने देखिएको हो । चीनमा नोभेम्बर र डिसेम्बर महिनालाई धेरै कार बिक्री हुने मानिन्छ ।
लीपमोटरले अहिलेसम्म ४ लाख ६५ हजार ८०५ युनिट कार बिक्री गर्दै लक्ष्यको ९३.२ प्रतिशत बिक्री पाइसकेको छ ।
आफ्नो लक्ष्य भेट्टाउने अर्को कम्पनी साओमी देखिएको छ । साओमीले २०२५ मा ३ लाख ५० हजार युनिट कार बिक्री गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म ३ लाख ६ हजार १८४ युनिट कार बिक्री गरिसकेको छ । आफ्नो लक्ष्यको ८७.५ प्रतिशत कार बिक्री गरिसकेको साओमीले सजिलै लक्ष्य भेट्टाउने देखिन्छ ।
यी तीन बाहेक अन्य कम्पनीले सजिलै लक्ष्य भेट्टाउन सक्ने देखिँदैन । लक्ष्यको नजिक आइएम मोटर्स पनि देखिएको छ । तर, उसलाई पूरा गर्न सजिलो छैन । आइएम मोटर्सले लिएको १ लाख युनिट कार बिक्री गर्ने लक्ष्यमा अहिलेसम्म ६३ हजार ३७६ युनिट बिक्री गरेको छ ।
भोयाले २ लाख युनिटको लक्ष्य राखेकोमा १ लाख १४ हजार २१० युनिट मात्रै बिक्री पाएको छ । अबको दुई महिनामा लक्ष्य अनुसार बिक्री पाउने सम्भावना न्यून देखिन्छ ।
नियोले ४ लाख ४० हजार कार बिक्री गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म २ लाख ४१ हजार ६१८ युनिट कार बिक्री गरेको छ । त्यस्तै अवस्था दीपलको पनि छ । दीपलले ५ लाख कार बिक्री गर्ने लक्ष्य लिएकोमा १० महिनामा २ लाख ६९ लाख ५८ युनिट बिक्री गरेको छ ।
जिकरको लक्ष्य ३ लाख २० हजार कार बिक्री गर्ने थियो । उसले अहिलेसम्म १ लाख ६५ हजार २३ युनिट मात्रै बिक्री गरेको छ । त्यस्तै, एलआई अटोले ६ लाख ४० हजार कार बिक्री गर्ने लक्ष्य लिएकोमा केबल ३ लाख २८ हजार ९१६ युनिट मात्रै बिक्री गरेको छ ।
अवतारको लक्ष्य पनि पूरा हुने छैन । कम्पनीले २ लाख २० हजार युनिट कार बिक्री गर्ने लक्ष्य राखेकोमा १० महिनामा १ लाख ४ हजार २४५ युनिट मात्रै बिक्री गर्न सफल भएको छ ।
बीवाइडीको डेन्जा ब्राण्डका गाडी ३ लाख युनिट बिक्री गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म केबल १ लाख २५ हजार युनिट बिक्री भएको छ ।
सन् २०२५ मा १० लाख कार बिक्री गर्ने लक्ष्य लिएको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स (हिमा)ले अहिलेसम्म केबल ४ लाख १८ हजार १२१ युनिट कार बिक्री गरेको छ ।

