काठमाडौं । असोज महिनामा झण्डै ४ हजार वटा सवारी साधन सडक दुर्घटनामा परेका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजमा देशभर कुल २ हजार ७५७ दुर्घटना हुँदा ३ हजार ९४७ सवारी साधन परेका हुन् ।
कुल सवारी दुर्घटनामा झण्डै दुई तिहाई मोटरसाइकल रहेका छन् । असोजमा ३ हजार ९४७ सवारी साधन दुर्घटनामा पर्दा मोटरसाइकल मात्रै २ हजार ४६७ वटा रहेका छन् । यो कुल दुर्घटनाको ६२.५० प्रतिशत हो ।
त्यस्तै, असोजमा १२५ बस, ५५५ जिप, कार, माइक्रो, १४९ ट्रक, ट्यांकर, ट्रिपर, ६५ ट्रयाक्टर, ३२५ ट्याम्पु, २३८ शारीरिक शक्तिबाट चल्ने सवारी, ५ डोजर, लोडर र १८ वटा अन्य सवारी साधन दुर्घटनामा परेको प्रहरीको तथ्यांक छ ।

सवारी दुर्घटना हुनुको मुख्य कारण चालकको लापरबाही देखिन्छ । तीव्र गतिमा सवारी चलाउँदा, मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा, जथाभावी ओभरटेक गर्दा लगायत कारणले सवारी दुर्घटना भएका हुन् ।
असोजमा सडक दुर्घटनामा परी २४७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७७ पुरुष, ५८ महिला, ९ बालक र ३ बालिका रहेका छन् । त्यस्तै, दुर्घटनामा ८४८ जना गम्भीर घाइते र ४ हजार ३७ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।

