काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङको नयाँ एसयूभीको तस्बिर बाहिर आएको छ । कम्पनीले ‘एक्सपेङ मोना’ नामबाट ल्याउने एसयूभी कुपे डिजाइनमा देखिएको हो ।
अहिले नेपाली बजारमा ‘एक्सपेङ जी सिक्स’ बिक्री हुँदै आएको छ । यदि, उपभोक्ताबाट माग भएको खण्डमा ‘एक्स नाइन’ मोडल पनि उपलब्ध हुनेछ । एक्सपेङका उत्पादन सीजी मोटर्सले नेपालमा बिक्री वितरण गर्दै आएको छ ।
एक्सपेङ जी सिक्सभन्दा कम मूल्यमा आउने मोना एसयूभीको मूल्य १६ हजार ७०० अमेरिकी डलर आसपास कायम गरेर बिक्री सुरु हुने अनुमान गरिएको छ । विशेषगरी युरोपियन बजारलाई ध्यानमा राखेर तयार भएको मोना एसयूभी जर्मनीमा आधारित रहेर बन्नेछ ।
एक्सपेङमा टेक्नीकल साझेदारको रुपमा फक्सवागेन ग्रुप जोडिएको कारण कम्पनीले युरोपमा लाग्दै आएको करबाट केही राहत पाउन जर्मनीमा प्लान्ट स्थापना गर्ने योजना बनाएको छ । उक्त योजना सफल भएमा मोना एसयूभी युरोपको लागि त्यही प्लान्टबाट उत्पादन हुनेछ ।
अहिले झट्ट हेर्दा एसयूभीमा रहने फिचरको बारेमा अनुमान गर्न सकिँदैन । तर, यसको डिजाइन र साइजलाई अनुमान लगाउँदा टेस्ला मोडल थ्रीसँग सिधा प्रतिस्पर्धा गर्नेगरी मोना एसयूभी बजारमा आउने छ ।
युरोपियन बजारमा बिक्री हुने भएपछि मोना एसयूभी नेपाली बजारमा पनि आउने छ । यसअघि पनि एक्सपेङले बेलायतमा बिक्री गर्दै आएको मोडल नेपालमा पनि उपलब्ध गराउँदै आएको छ ।


