जर्मनीको हमबर्गमा सुनको जलप लगाइएको पोर्शे कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त कारको चमकका कारण सडक दुर्घटना हुने संभावना बढेको भन्दै प्रहरीले कार नियन्त्रणमा लिएको हो ।
कारको अत्याधिक चमकका कारण अन्य सवारी चालकको आँखामा असर पुर्याएको प्रहरीको तर्क छ । उक्त कार चालकलाई सुनको पोलिश हटाई पुनः कार रजिष्टर गर्न प्रहरीले निर्देशन दिएको थियो । तर, पुलिसको निर्देशन अटेर गरेपछि प्रहरीले कार नियन्त्रणमा लिएको हो ।
जफतमा परेको कार र कार चालकलाई जरिवाना लिई छोडिएको प्रहरीले जनाएको छ । साथै, सोही दिन अर्को सुनको पोलिस लगाइएको लेम्बार्गिनी कारसमेत पक्राउ परेको थियो । उक्त कार चालकले भने प्रहरीको निर्देशन बमोजिम कारमा प्रयोग भएको सुनको जलप हटाएको थियो ।


