रोयल इनफिल्डले बेच्न थाल्यो ‘एयरब्याग भेस्ट’, कति पर्छ मूल्य ?

काठमाडौं । आइकानिक मोटरसाइकल ब्राण्ड रोयल इनफिल्डले ‘एयरब्याग भेस्ट’ बनाएको छ । कम्पनीले हालै सम्पन्न मोटोभर्स २०२५ मा एयरब्याग भेस्ट सार्वजनिक गरेको हो ।

बढ्दो दुईपाङ्ग्रे साधनको दुर्घटनामा मानवीय क्षति कम गर्ने सुरक्षा फिचरको रूपमा रोयल इनफिल्डले एयरब्याग भेस्ट ल्याएको हो । यसको प्रयोगले दुईपाङ्ग्रे साधनको दुर्घटनामा हुने मानवीय क्षति कम हुने अनुमान गरिएको छ ।

कम्पनीले ३५ हजार भारतीय रुपैयाँ तोकेर उक्त भेस्टको बिक्री समेत सुरू गरेको छ । यो एयरब्याग भेस्टले दुर्घटना हुँदा कारको जसरी एयरब्यागले काम गर्छ त्यसरी नै काम गर्नेछ ।

ठूलै किसिमको दुर्घटना हुँदा भेस्टको चारैतर्फ हावा भरिने छ, जसले चालकलाई निकै ठूलो सुरक्षा प्रदान गर्नेछ । एकपटक दुर्घटनामा प्रयोग भइसकेपछि पनि कार्टेज परिर्वतन गरेर सहजै लगाउन सकिने कम्पनीले जनाएको छ । कार्टेज परिवर्तन गर्न केबल २ हजार भारतीय रुपैयाँ लाग्नेछ ।

कम्पनीको दाबी मान्ने हो भने दुर्घटना हुँदा उक्त भेस्टले १०० मिलिसेकेण्डभन्दा कम समयमै काम गर्नेछ । उक्त एयरब्याज भेस्ट सीई सर्टिफाइड भइसकेको कम्पनीले जनाएको छ ।

रोयल इनफिल्डले उक्त भेस्टमा २ वर्षको वारेन्टी दिएको छ । एयरब्याग भेस्टका अलावा कम्पनीले मोटोभर्स २०२५ मो नयाँ हेलमेट, ब्लुटूथ कनेक्टिभिटी डिभाइस तथा विभिन्न गियर्सहरू समेत सार्वजनिक गरेको थियो ।


Back_to_top