काठमाडौं । नारायणघाट-बुटवल सडक योजनाले जुनसुकै ठाउँमा यू-टर्न (मिडियन ओपनिङ)को माग नराख्न सबैमा आग्रह गरेको छ ।
आयोजनाले सडकको अधिकांश स्थानहरूमा यू टर्नको मागसहितको निवेदन तथा सिफारिसहरूको चाङ लाग्न थालेको भन्दै सडक सुरक्षालाई मध्येनजर गर्दै उक्त कार्य नगर्न सबैमा अनुरोध गरेको हो ।
योजना कार्यालयले नै डिजाइनदेखि निर्माणको विभिन्न चरणमा भएका रोड सेफ्टी अडिटबाट प्राप्त सुझाव सहित प्रमुख चोक, आवश्यक अन्य स्थानहरूमा सुरक्षित यू टर्नहरूको पर्याप्त व्यवस्था गरेकाले थप स्थानमा माग नगर्न आग्रह गरेको छ ।
पैदलयात्री लागि चौडा फुटपाथ, स्थानीय सवारी साधनको लागि छुटै सर्भिस लेन, निश्चित इन्ट्रभल र आवश्यक स्थानहरूमा जेब्रा क्रसिङहरूको समेत पर्याप्त व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।
‘पैदल यात्रीको लागि यथेष्ट जेब्रा क्रसिङको व्यवस्था गरिएको र आवश्यक पर्दा सवारी साधनहरूले १ किलोमिटर दायाँबाँया घुमेर यू टर्न गर्नुपर्ने अवस्था रहेको भएता पनि त्यसलाई सडक सुरक्षा बाहेक अन्यथा नबुझिदिनुहुन अनुरोध छ,’ आयोजनाले भनेको छ ।
यू टर्न कहाँ राख्ने भन्ने विषय नितान्त प्राविधिक रहेकाले स्थानीयले आफ्नो इच्छा अनुसार माग गर्न नमिल्ने आयोजनाको दाबी छ । ‘थप यू टर्न प्रदान गर्ने विषय विशुद्ध प्राविधिक रहेको र सडक सुरक्षाको दृष्टिकोणले हाम्रा सडक सुरक्षा सम्बन्धित विशेषज्ञबाट प्रस्ताव भएको ठाँउमा मात्र प्रदान गरिएको हुँदा ‘फलानो चोकमा यू टर्नछ, हाम्रो चोकमा किन छैन ?’ भन्ने विषयमा विवाद गरेर काममा अवरोध श्रृजना नगरिदिनुहुन पनि अनुरोध छ,’ आयोजनाको भनाइ छ ।
त्यसैले स्कूल, कलेज, स्वास्थ्य संस्था, होटल, पेट्रोल पम्प, ईभी चार्जिङ स्टेसन, व्यापारिक संस्था, आदि रहेका प्रत्येक चोकमा यू टर्न उपलब्ध गराउन नसकिने आयोजनाले स्पष्ट पारेको छ ।
पूर्व-पश्चिम अन्तर्गत नारायणघाट-बुटवल सडक कुनै स्थानीय वा प्रादेशिक सडक नभई एशियन स्ट्याण्डर्डको हाइवे भएकाले सोही मापदण्ड अनुसार डिजाइन गरिएको आयोजनाको भनाइ छ । एशियन हाइवेको समथल भू-भाग रहेको ठाँउमा मेन क्यारिजवेको स्पीड प्रतिघण्टा १२० किमी रहने हुनाले जुनसुकै स्थानबाट यूटर्न गर्न नमिल्ने आयोजनाले स्पष्ट पारेको छ । साथै, शहरी क्षेत्रमा स्थानीय सवारी साधनका लागि दोहोरो यातायात सन्चालन गर्न मिल्ने ६ मिटर चौडाइको सर्भिस लेन व्यवस्था गरिएको अवगत गराएको छ ।
एशियन हाइवे इन्डोनेसियाको डेन्पेसारबाट सुरू हुँदै सिंगापुर, मलेसिया, थाइल्याण्ड, म्यानमार, बंगलादेश, भारतको पानीट्याङ्की हुँदै नेपालको मेचीपुल-इटहरी-पथलैया-हेटौंडा-नारायणघाट-बुटवल-भालुवाङ्ग-कोहलपुर-अत्तरिया हुँदै महाकाली पुलबाट पुनः भारत हुँदै-पाकिस्तान हुँदै इरानसम्म पुग्ने गरी १० वटा देशमा सन्जाल फैलिएको करिब १३ हजार किलोमिटर लामो छ ।
सडकको स्कूल, कलेज, स्वास्थ्य संस्था, होटल, पेट्रोल पम्प, ईभी चार्जिङ स्टेसन, व्यापारिक संस्था लगायत रहेका प्रत्येक चोकमा यू टर्न राख्दा सुरक्षाका दृष्टिकोणले निकै जोखिमपूर्ण हुने आयोजनाले जनाएको छ । विकासोन्मुख राष्ट्रको शहरी क्षेत्रमा हुने ७२ प्रतिशत सडक दुर्घटनाहरू यस्तै यू टर्न र साँझको समयमा हुने गरेको आयोजनाले स्मरण समेत गराएको छ ।
जथाभावी यू टर्न राख्दा हुने जोखिमलाई आयोजनाले ८ बुँदामा स्पष्ट पारेको छ । जुन यस प्रकार छन् ।
१) सिग्नल बिनाको ’एट ग्रेड इन्टरसेक्सन’ जस्तो : यसले हाइ स्पीड सडकलाई ‘ग्रेड-लेभल चोक/इन्टरसेक्सन’ जस्तो बनाइदिन्छ । तर त्यस्तो चोकमा चाहिने नियन्त्रण र सुरक्षा (सिग्नल, च्यानलाइजेसन आदि) प्रायः हुँदैन जसले गर्दा त्यस्तो यू टर्न सडक दुर्घटनाको हट स्पट जस्तो हुन जान्छ ।
२) सवारी ठोक्किने उच्च सम्भावना : सडकमा सिधा जाने सवारी उच्च गतिमा हुन्छन्, तर यू टर्न(मिडियन ओपनिङ) प्रयोग गर्ने सवारीले दुवै विपरीत लेन काटेर (यू-टर्न/दायाँ मोड) जानुपर्ने, वा मोडिएपछि तुरुन्तै उच्च गतिमा चलिरहेको सवारीहरूमा मिसिनुपर्ने हुन्छ।यसले एङ्गल/ टी बेन जस्ता ठोक्किने सम्भावना बढाउँछ।यस्तो अवस्थामा दुर्घटनाको चोट/क्षति धेरै गम्भीर हुन्छ।
३) दुई लेनको ग्याप एउटैचोटि आँकलन गर्नुपर्छ : चालकले विपरीततर्फको नजिकको लेन र टाढाको लेन दुवैमा खाली ठाउँ सुरक्षित छ कि छैन भन्ने निर्णय गर्नुपर्ने हुन्छ।कहिलेकाहिँ नजिकको लेन खाली देखिए पनि टाढाको लेनमा सवारी द्रुत गतिमा आइरहेको हुन्छ। यसले सवारी बीचमै अड्किने, हडबडीमा एक्सिलेटर बढी थिच्ने वा अकस्मात रोक्ने अवस्था सिर्जना गर्छ जस्ले गर्दा दुर्घटनाको जोखिम थप बढाउँछ ।
४) गतिमा ठूलो फरक : यू टर्नमा छिर्ने सवारीले अचानक गति घटाउँछ/कहिलेकाहीँ रोक्छ। पछाडिबाट उच्च गतिमा आउनेले सवारीले अगाडी यस्तो अचानक रोकावटको अपेक्षा नगरेको हुन सक्छ जसले ब्रेकिङ वेभ फैलिन् गई पछाडिबाट ठोक्किने (रयर इण्ड) र कहिलेकाहीँ एकै साथ धेरैवटा सवारी साधनहरू एक आपसमा ठोक्किने जस्तो दुर्घटना निम्तिन सक्छ ।
५) साइट डिस्टान्स थोरै हुन सक्छ : सिधा सडक जस्तो लागे पनि मोड/उकालो–ओरालो मा ठूलो बस/ट्रकले अगाडीको दृश्य छेक्ने (विशेष गरी टाढाको लेन) हुँदा राति/वर्षामा साइट डिस्टान्स घट्ने कारणले सही ग्याप आँकलन गर्न कठिन हुन्छ। यस्तो अवस्थमा साइट डिस्टान्स नपुग्दा निर्णय ‘अन्दाज’ मा जान्छ र ठूलो दुर्घटना हुन जान्छ ।
६) सुरक्षित स्टोरेज ठाउँ हुँदैन : सडकमा मिडियनको चौडाइ कम (३ मिटर) हुँदा यू टर्नमा सवारी पूर्ण रूपमा सुरक्षित रूपमा रोकिएर पर्खन नसक्ने, सवारीको केही भाग गाडी चलिरहेको लेनतिर बाहिर निस्किने जस्तो हुन्छ, जसले पछाडिबाट आउने सवारी ठोक्किने जोखिम बढाउँछ।
७) मिश्रित सवारीले निम्त्याउने जोखिम : हाम्रो देशमा दुई/तिन पाङ्ग्रे सवारी साधनको संख्या उल्लेख्य रहेको छ। यस्तोमा खास गरि मोटर साईकल, रिक्सा, टेम्पो आदिले ठूला सवारीलाई पर्न सक्ने जोखिमको आँकलन नगरि अचानक यू टर्न लिने प्रवृति मौलाउँदै गइरहेको छ, जसले गर्दा यू टर्नमा साना र ठूला सवारी एक आपसमा ठोक्किएर ठूलो धनजनको क्षति हुने सम्भावना बढाउँछ ।
८) यू टर्न धेरै भए ट्राफिक अझै अस्तव्यस्त : जति धेरै यू टर्न, उति धेरै ठाउँमा अचानक गति घटाउने, मोड्ने, लेन काट्ने जस्ता गतिबिधी हुन्छनजसले कन्फिल्कट पोइन्टसहरू बढेर दुर्घटनाको जोखिम झनै बढाउँछ।

