हराएका ६० मोटरसाइकल फेला, केक काटेर मनाए खुसीयाली

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ६० वटा दुईपाँग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा ती सवारी साधन फेला परेका हुन् ।

ट्राफिक प्रहरीले ती सवारी काठमाडौं उपत्यका स्थित काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, टोखा, नँयाबसपार्क, बालकुमारी, भाटभटेनी भक्तपुर, लोकन्थली, नाला बनेपा, बसन्तपुर, बसन्तपुर, किर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट, सोह्रखुट्टे, कपन, सुडाल, जरङ्खु लगायतका स्थानमा फेला पारेको हो ।

हराएका तथा चोरी भएका सवारी बुझेपछि धनीले केक काटेर खुसी साटेका छन् । ट्राफिक प्रहरीलाई विशेष धन्यवाद समेत दिएका छन् ।

आज बुझाइएकासहित ट्राफिकले चालु आवको साउन यता कुल १८१ वटा सवारी साधन फेला पारी धनीलाई जिम्मा लगाइसकेको छ । साथै, सवारी साधन सहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ४१७ ओटा र २०८१/८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएके थियो ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत(जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


Back_to_top