भारतीय सवारी उत्पादक कम्पनी मारुती सुजुकीले २०२० बाट डिजेल गाडीको उत्पादन पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले भारतमा नयाँ इमिसन स्ट्यान्डर्ड लागु हुनु पूर्व नै डिजेल कारको उत्पादन बन्द गर्ने तयारी गरेको हो ।
कम्पनीका चेयरम्यान आरसी भार्गवले १५ सय सीसी भन्दा कम इन्जिन क्षमताका डिजेल कारको उत्पादन बन्द गर्ने जनाएका छन् । यी कारको कुनै भविष्य नभएको निष्कर्श कम्पनीले निकालेको उनले बताए ।
हाल मारुती कम्पनीले वार्षिक ४ लाख ५९ हजार डिजेल कार बेच्दै आएको छ । मारुती सुजुकीको वार्षिक बिक्री गर्ने कारको ३० प्रतिशत हिस्सा डिजेल कारले ओगट्ने गरेको छ ।
डिजेल कारको उत्पादन बन्द गरि कम्पनी पेट्रोल र सिएजनी कारको उत्पादनमा केन्द्रित हुने अनुमान लगाइएको छ । कम्पनीले अहिले पनि सिएनजी भेरियन्ट सार्वजनिक गर्ने तयारी गर्दै आएको छ । त्यस्तै कम्पनीले इलेक्ट्रीक कार उत्पादनलाई पनि प्राथमिकतामा राख्ने जनाएको छ ।

