भौतिक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै चौलागाईंले गरे तीन निर्णय

काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेका छन् ।

उनले शुक्रबार भौतिक मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् । तत्कालीन भौतिकमन्त्री कुलमान घिसिङले पुस २३ गते राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले उक्त मन्त्रालयको जिम्मेवारी चौलागाईंलाई दिएकी थिइन् ।

पदभार ग्रहणसँगै मन्त्री चौलागाईंले तीन वटा निर्णय गरेका छन् । उनले कर्णाली राजमार्गलाई स्तरोन्नति गर्न आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंक (एडीबी)लाई अनुरोध गर्ने पहिलो निर्णय गरेका छन् ।

त्यस्तै, उनले जुम्ला र कालीकोटको सिमाना नाग्मस्थित हिमा नदीमा रहेको बेलिब्रिज जुम्लाको तातोपानी गाउँपालिका-५, हाकुको तिला नदीमा स्थानान्तरण गर्ने निर्णय गरेका छन् । नाग्मामा पक्की पुल निर्माण भइसकेकोले उक्त बेलिब्रिज जुम्ला सार्न लागिएको उनले बताए ।

मन्त्री चौलागाईंले निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची १३ मा रहेको ‘घ’ वर्गको निर्माण व्यवसायीको योग्यता सम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझावका लागि लागि अध्ययन समिति गठन गर्ने निर्णय गरेका छन् । उनले मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका हुन् ।


Back_to_top