‘सीकेडी भेहिकल एसेम्बलमा नीतिगत स्पष्टताले मात्र अटो उद्योगलाई दिगो बनाउँछ’

काठमाडौं । सरोकारवालाहरूले नेपालमा ‘सीकेडी भेहिकल एसेम्बली’ उद्योगमा सरकारको नीतिगत स्पष्टताले मात्र नेपालको अटोमोबाइल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउने बताएका छन् ।

नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले इन्सिच्युट अफ इन्जिनियरिङ, थापाथलीको सहकार्यमा आयोजना गरेको ‘सीकेडी सवारी एसेम्बली : अवसर, चुनैती र सम्भावनाहरू’ विषयक मोबिलिटी संवादमा वक्ताहरूले यस्तो बताएका हुन् ।

नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठले सीकेडी भेहिकल एसेम्बली, नीतिगत स्पष्टता तथा शैक्षिक संस्था, सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र नेपालको अटोमोबिल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने बताइन् ।

उनले मोबिलिटी संवाद जस्ता संवादात्मक पहलहरूले ज्ञान आदान–प्रदान, नीतिगत समझदारी र दीर्घकालीन औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।

नाइमा सदस्य गौरव सारडाले सीकेडी भेहिकल एसेम्बली ‘मेक इन नेपाल’ नीतिसँग जोडिएको व्यवहारिक औद्योगिक मोडेलका रूपमा प्रस्तुत गरे । उनले यसले दक्ष जनशक्ति विकास, युवा रोजगारी सृजना, प्रविधि स्थानान्तरण तथा स्थानीय आपूर्ति श्रृङ्खलाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर ई. लक्ष्मण पालिखेल राउतले राष्ट्रिय विकासका लागि स्थानीय उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै, प्राज्ञिक र औद्योगिक क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

प्यानल छलफलका क्रममा वक्ताहरूले मानव स्रोत विकास, प्रविधि सुदृढीकरण र नीतिगत स्थायित्व बिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए ।

भारत, चीन, ब्राजिल तथा अफ्रिकी मुलुकहरूको अनुभवले सीकेडी भेहिकल एसेम्बली लाई औद्योगिकीकरणको प्रारम्भिक आधारका रूपमा सफल देखाएको उल्लेख गर्दै ‘मेक इन नेपाल’ सन्दर्भमा यसको दीर्घकालीन सम्भावनाबारे चर्चा गरिएको थियो ।


Back_to_top