काठमाडौं । नेपाली बजारमा दीपलको ट्रान्सफर्मर एसयूभीको फेसलिफ्ट मोडल ‘ई-०७ ट्रान्सफर्मर एक्स’को बिक्री सुरू भएको छ ।
नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले १ करोड ९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर दीपल ई-०७ ट्रान्सफर्मर एक्सको बिक्री सुरू गरेको हो ।
कम्पनीले गत वर्ष बजारमा ल्याएको ई-०७ कोभन्दा फेसलिफ्ट मोडलको मूल्य १० लाख रुपैयाँ बढी राखेको हो ।
ई-०७ को मुख्य विशेषता भनेकै एक बटन थिचेकै भरमा एसयूभीको पछाडिको भागलाई पीकअपमा परिणत हुन्छ । साथै, यो गाडीमा प्रयोग भएको एयर सस्पेन्सन र सिटले ‘सुपर लग्जरी’ एसयूभीको ‘फिल’ दिन्छ ।
ई-०७ ट्रान्सफर्मर एक्समा शक्तिशाली १९० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर छ । यसले ३६५ न्युटन मिटर पीकटर्क प्रदान गर्दछ ।

कम्पनीले यसमा ब्याट्टी पनि निकै ठूलो दिएको छ । यसमा ८९.९८ किलोवाट आवरको गोल्डन शिल्ड ब्याट्रीप्याक छ । जसले सिंगल चार्जमा ५६६ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसले २४० किलोवाट क्षमताको डीसी चार्जर समेत सपोर्ट गर्नेछ ।
यो एसयूभीको इन्टेरियरमा २८.८६ इन्चको हेडअप डिस्प्ले, १५.४ इन्चको सनफ्लो टच स्क्रीन, नापा लेदर सिट, सबै सिट हिटेड/भ्यान्टिलेटेड पाउन सकिन्छ । १४ वटा सुरक्षा फिचर भएको एडास, ३६० डिग्री क्यामेरा , अन्टिनियस ड्याम्पिङ कन्ट्रोल (सीडीएस) लगायत फिचर छन् ।

यसमा अधिकतम २२३ एमएमसम्म समायोजना गर्न सकिने ग्राउण्ड क्लिरेन्स छ । साथै, राजमार्ग र कठिन भू-भाग दुवैका लागि छुटाछुटै ड्राइभिङ मोडहरू उपलब्ध छन् ।

