काठमाडौं । विद्युतीय कमर्सियल सवारीसाधनको बजारमा कियाले आफ्नो नयाँ प्रयोग गरेको छ । कोरियन ब्राण्डले व्यवसायिक सवारीको परिभाषा बदल्ने प्रयास स्वरूप पीभी-५ सार्वजनिक गरेको हो ।
किया मोटरले पीभी-५ को नयाँ चेसिस संस्करण सार्वजनिक गर्दै एउटै विद्युतीय गाडीलाई आफ्नो आवश्यकता अनुसार टिपर, बक्स भ्यान, फुड ट्रकदेखि क्याम्परसम्म बनाउन मिल्नेगरी ल्याएको हो ।
दक्षिण कोरियाली निर्माताले सन् २०२७ को दोस्रो अर्धवार्षिकसम्ममा यसको ठूलो भर्सन ‘पीभी-७’ पनि बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ । त्यसअघि कम्पनीको मुख्य कमर्सियल इलेक्ट्रीक भ्यानका रूपमा पीभी-५ रहने छ ।
यो विल्कुलै नयाँ मोडल भने होइन । यसअघि कियाले कार्गो र प्यासेन्जर भ्यानको रूपमा बिक्री गर्दै आएको पीभी-५ नै अहिले खुला चेसिसको स्वरूपमा आएको हो ।
कम्पनीले यसअघिकै मोडलमा रहेको फ्रन्ट डिजाइनलाई निरन्तरता दिएको छ । त्यसैले आफ्नो चाहना अनुसारको पछाडिको स्पेश बनाउन किल्ने अन्य पीभी-५ को क्याबिन आधुनिक, मोर्डन र आकर्षक छ ।
पछाडिको भाग हटाएर खुला स्टिल फ्रेम राखिएको छ । ४६१० एमएम लम्बाइ र २९९५ एमएम ह्वीलबेस भएको भ्यानमा अगाडि दुई सिट रहेको छ ।
यसको सबैभन्दा विशेष पक्ष भनेको कस्टमाइजेसन हो । खुला चेसिसमा ग्राहकले आवश्यकता अनुसार रेफ्रिजरेटेड भ्यान, मोबाइल वर्कसप, टिपर, एम्बुलेन्स, सर्भिस भ्यान वा क्याम्पर बनाउन सक्नेछन् । कियाले यसअघि नै भान्सासहितको पीभी-५ फुड ट्रक प्रदर्शन गरिसकेको छ ।
बेलायतमा सार्वजनिक गरिएको पीभी-५ चेसिस लङ रेन्ज संस्करणमा उपलब्ध छ । यसमा १२० किलोवाटको इलेक्ट्रीक मोटर र ७१.२ किलोवाट आवरको ब्याट्री छ । यसले एकपटकको चार्जमा डब्लूएलटीपी टेस्ट रिपोर्ट अनुसार ४१६ किलोमिटरसम्म रेन्ज दिने बताइन्छ ।
यसको अधिकतम भारवहन क्षमता १५०० किलोग्राम छ । अर्थात्, एउटै विद्युतीय प्लेटफर्मलाई फरक व्यवसायिक आवश्यकता अनुसार रूपान्तरण गर्न सकिने कियाको यो अवधारणाले भविष्यमा कमर्सियल ईभी बजारमा नयाँ सम्भावना खोल्ने देखिन्छ ।

