काठमाडौं । जापानी साना कारको बजारमा विद्युतीय प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ । चिनियाँ कम्पनी बीवाइडीले आफ्नो नयाँ केई इलेक्ट्रीक कार ‘राको’ सार्वजनिकको केही महिना भित्रै सुजुकीले पनि ‘ई स्काई’को आधिकारिक तस्बिर सार्वजनिक गरेको हो ।
सानो ब्याट्रीबाट लामो रेन्ज दिने लक्ष्यसहित आएको ई स्काईले जापानको बढ्दो केई ईभी बजारमा बीवाइडीसँग सिधा प्रतिस्पर्धा गर्नेछ । सुजुकीले ‘भिजन ई स्काई कन्सेप्ट’मा आधारित कारको आधिकारिक तस्बिर र विवरण सार्वजनिक गरेको हो ।
जापानमा सन् २०२६ को अन्तिममा बिक्री थाल्ने घोषणा गरेको यो कार सन् २०२७ मा युरोप र बेलायतमा समेत बिक्री गर्ने सुजुकीले जनाएको छ ।
ई स्काईको सबैभन्दा आकर्षक पक्ष यसको ब्याट्री र रेन्ज हो । यसमा २६ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री रहनेछ ।
उक्त ब्याट्रीबाट एकपटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज प्राप्त गर्ने कम्पनीको लक्ष्य छ । यसको तुलनामा बीवाइडीको रेकोले ३५.८४ किलोवाट आवरको ब्याट्रीबाट अधिकतम ३२० किलोमिटर रेन्ज दिँदै आएको छ ।
सुजुकीले तुलनात्मक रूपमा सानो ब्याट्री प्रयोग गरेर बीवाइडीको रेन्जसँग नजिक पुग्ने रणनीति लिएको देखिन्छ ।
ई स्काईमा अधिकतम ६३ हर्सपावर क्षमताको इलेक्ट्रीक मोटर रहने अनुमान छ । यो जापानको केई कारका लागि निर्धारित अधिकतम मोटर क्षमता हो । सुजुकीको नयाँ हार्टटेक्ट ई प्लेटफर्ममा आधारित यस कारको तौल करिब १ हजार ३० किलोग्राम रहने बताएको छ ।
कारको लम्बाइ ३३९५ एमएम हुनेछ । चार सिट क्षमतासहितको यो कार विशेषगरी सहरी प्रयोगलाई लक्षित गरेर तयार पारिएको हो । यसमा १०.१ इन्चको इन्फोटेनमेन्ट स्क्रीन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, हिटेड सिट र स्टेयरिङ ह्वीलजस्ता सुविधा रहनेछन् ।
ई स्काईलाई ६ किलोवाटको एसी फास्ट चार्जरबाट साढे ४ घण्टामा फुल चार्ज गर्न सकिनेछ । यसले ५० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्नेछ ।
सुजुकीको यो मोडलले बीवाइडी राकोसँगै निसान साकुरा, मित्सुबिसी ईके एक्स ईभी र होण्डा एन-वन ईसँग प्रतिस्पर्धा गर्नेछ ।

