काठमाडौं । आगामी फागुन ६ गतेदेखि चितिवनस्थित भरतपुर विमानस्थलमा ६ फागुनदेखि हवाई इन्धन भर्ने सुविधा उपलब्ध हुने भएको छ ।
नेपाल आयाल निगमले विमानस्थलमा हवाई इन्धन कार्यालय संचालनमा ल्याउने भएको हो ।बुधबार भरतपुर विमानस्थल र आयल निगम बीच हवाई इन्धन कार्यालय स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
यससँगै अब भरतपुर उडान गर्ने जहाजले सिट खाली राखेर जानु नपर्ने भएको छ । हाल भरतपुरमा इन्धन भर्ने सुविधा नहुँदा काठमाडौंबाटै दुईतर्फी उडानको तेल भरेर जानुपर्ने बाध्यता छ । धेरै तेल बोक्नुपर्ने हुँदा जहाजले हरेका उडानमा ५/६ सिट खाली राखेर जाने गरेका छन् ।
निगम संचालक समिति बैठकको माघ १९ गतेको बैठकले भरतपुर विमानस्थलबाट हवाई इन्धन सेवा सुरू गर्न स्वीकृति दिएको थियो । त्यस्तै, २० गते निगम व्यवस्थापनले भरतपुर विमानस्थलमा हवाई इन्धन सेवा सुरू गर्ने निर्णय गरी कार्यालय राखेर सेवा सुरू गर्न निर्देशन दिएके थियो ।
निगमका अनुसार भरतपुर विमानस्थलमा हवाई इन्धन भर्नका लागि २ थान रिफ्युलर र १ थान मोबाइल डिस्पेन्सरको व्यवस्था गरिएको छ ।
हाल निर्वाचन आचारसंहिताका कारण भरतपुर विमानस्थलमा दरबन्दी सिर्जना गरेर कर्मचारी खटाउन समस्या परेको छ । त्यसैले हवाई इन्धन कार्यालय, सिनामंगलमा रहेकामध्ये केही कर्मचारी भरतपुरमा खटाएर सेवा सुरू गर्न लागिएको हो ।

