काठमाडौं । सरकारले देशका सातवटै प्रदेशमा ‘ब्लू बस’ संचालनको तयारीलाई अघि बढाएको छ ।
बालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको कार्यसूची अनुसार महिलालाई सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लू बस’ चलाउने तयारी गरिएको हो ।
गत चैत १३ गते स्वीकृत कार्ययोजना अनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस संचालनमा ल्याउने लक्ष्य छ । सो अनुसार काठमाडौं उपत्यकामा साझा यातायातसँग र उपत्यका बाहिर यातायात व्यवसायीसँग सहकार्य गरी २५ वटा बस संचालनमा ल्याउने तयारी गरिएको हो ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार उपत्यकामा साझा यातायातसँग सहकार्य गरी कम्तीमा सातवटा बसलाई ‘ब्लू बस’का रूपमा संचालन गर्ने योजना अघि बढाइएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकाबाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी कम्तीमा १८ वटा बस संचालनमा ल्याउने तयारी छ ।
ब्लू बस सेवा संचालनका लागि आवश्यक कार्यविधि, समयसहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा संचालनको जिम्मेवारी निर्धारण गरिएको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ । प्राप्त प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयको भनाइ छ ।
सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लू बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको छ । आगामी आर्थिक वर्षमा सातै प्रदेशमा ब्लू बस सेवा संचालनका लागि आवश्यक बजेट तथा कार्यक्रमसमेत प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।
ब्लू बस सेवा संचालनमा आएपछि विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षित र सहज यात्राको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ ।


