काठमाडौं । महिन्द्राले अघिल्लो वर्ष देखाएको भिजन एस कन्सेप्टमा आधारित ४ मिटर साइजको एसयूभी निरन्तर परीक्षण भइरहेको छ ।
भारतीय निर्माताले लाइफ स्टाइल एसयूभीको रूपमा बजारमा ल्याउन लागेको भिजन एसलाई धेरैले नयाँ जेनेरेशन स्कर्पियो पनि भन्ने गरेका छन् ।
महिन्द्राको एसयूभी लाइनअपमा निकै पृथक देखिएको भिजन एसको पहिलो प्रोडक्सन मोडल कन्सेप्टसँग हुबहु मिल्दोजुल्दो देखिन्छ । महिन्द्राको नयाँ ‘एनयू आईक्यू प्लेटफर्म’मा आधारित एसयूभी पेट्रोल, डिजेल, हाइब्रिड र इलेक्ट्रीक मोटरमा आउने भनेको कारण पनि धेरैले यसलाई चासोका साथ हेरेका छन् ।
बाहिरबाट झट्ट हेर्दा बक्सी र अफरोड केन्द्रित डिजाइन भएको कारण युवा पुस्तालाई तान्न सक्ने देखिन्छ । यसमा एल आकारको एलईडी डे टाइम रनिङ लाइट दिइएको छ । हेडलाइट पनि एलईडी नै पाउन सकिन्छ ।
नयाँ एसयूभीमा १९ इन्चको निकै ठूलो ह्वील देखिन्छ । ठूला ह्वील आर्क र बाक्लो बडी क्लाइडिङको कारण एसयूभीको लुक मस्कुलर लाग्छ । फ्लस टाइप डोर ह्याण्डल र पछाडि टेलगेटमा राखिएको स्पेयर टायरले लोभलाग्दो देखाएको छ ।

अफरोडको लागि बनाएको कारण यसमा उच्च ग्राउन्ड क्लियरेन्स रहने कुरामा दुईमत रहेन ।
इन्टेरियरमा दुई ठूला स्क्रीन, ड्यूल टोन सिट, प्यानारोमिक सनरुफ, ग्राबरेल तथा नयाँ डिजाइनमा तयार पारिएको स्टेयरिङ ह्वील यसमा रहने छ ।
फ्रन्ट ह्वील र अल ह्वील ड्राइभ अप्सनमा आउने महिन्द्राको भिजन एस भारत बाहिर पनि निर्यात गर्ने लक्ष्य राखिएको मोडल हो । कम्पनीले सन् २०२७ को सुरुवात मै यसलाई बजारमा उतार्ने अनुमान गरिएको छ ।
‘मल्टीपल पावर ट्रेन’मा आउने भएको कारण इन्जिन, मोटर, ब्याट्री लगायतका टेक्निकल डिटेलको बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।


