काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ फागुन महिनामा ७२८ युनिट प्यासेन्जर नेपाल भित्रिएका छन् ।
भन्सार तथ्यांक अनुसार फागुनमा ४४५ युनिट विद्युतीय (ईभी) र २८३ युनिट आइसीई कार भित्रिएका हुन् । फागुनमा औसतभन्दा कम कार नेपाल आएका हुन् ।
चालु आवमा औसतमा मासिक १ हजार बढी कार आयात हुँदै आएकोमा फागुनमा ७२८ मै सीमित भएको हो ।
फागुनमा भित्रिएका कारमा ईभीको हिस्सा ६१ प्रतिशत र आइसीईको ३९ प्रतिशत रहेको छ । सेग्मेन्टका आधारमा झण्डै दुई तिहाई एसयूभी आयात भएको छ ।
फागुनमा कुल ७२८ कार आयात हुँदा ६२.५ प्रतिशत अर्थात् ४५५ युनिट एसयूभी रहेका छन् । कुल आयातमा ईभी र आइसीईको हिस्सा ६१÷३९ भए पनि एसयूभीमा सेग्मेन्टमा भने झण्डै बराबर रहेको छ । फागुनमा २३७ युनिट ईभी र २१८ युनिट आइसीई एसयूभी नेपाल आएका छन् ।
यो महिना बीवाइडी, दीपल, चेरी, लिपमोटर, हुन्डाई, एमजी, टाटा लगायत ब्राण्डका एसयूभी आयात भएका हुन् ।
त्यस्तै, फागुनमा १४४ युनिट सेडान कार भित्रिएका छन् । जसमा १४१ युनिट ईभी सेडान र ३ युनिट कम्बस्चन सेडान आयात भएको छ । कुल आयातमा सेडानको हिस्सा १९.७८ प्रतिशत रहेको छ ।
त्यसैगरी, फागुनमा कुल १२८ युनिट ह्याचब्याक (मिनिकार सहित) आयात भएको छ । ह्याचब्याक पनि ईभी र आइसीईको हिस्सा झण्डै बराबर छ । यो महिना ६६ युनिट ह्याचब्याक ईभी भित्रिँदा ६२ युनिट आइसीई भित्रिएका छन् ।
विगतमा सर्वाधिक बिक्री हुनेमा पहिलो स्थानमा रहेको ह्याचब्याक कार पछिल्लो समय कम रोजाइमा पर्न थालेका छन् । झण्डै ह्याचब्याककै मूल्यमा एसयूभीहरू आउने थालेपछि ह्याचब्याकको हिस्सा घट्दै गएको हो । फागुनमा कुल आयातमा ह्याचब्याकको हिस्सा १७.५८ प्रतिशत रहेको छ ।
फागुनमा सबैभन्दा कम मल्टिप्रपोज युटिलिटी भेहिकल (एमपीभी) आयात भएको छ । यो महिना केबल १ युनिट मात्रै एमपीभी नेपाल आएको हो ।


