काठमाडौं । मध्यपूर्वमा द्धन्द्ध चर्किरहँदा ऊर्जा केन्दहरू निशासानमा पर्न थालेका छन् ।
अमेरिका र इजरायलले इरान माथि हमला बढाइरहँदा इरानले जवाफमा खाडी मुलुकमा ड्रोन तथा मिसाइल आक्रमण बढाएको हो ।
यसैक्रममा, इरानले बुधबार बिहान कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गर्दा ठूलो क्षति भएको छ ।
कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार इरानको मिसाइल आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लाण्टमा आगलागी भएको थियो । आपतकालीन टोलीले आगो नियन्त्रणमा लिए पनि पूर्वाधारमा उल्लेख्य क्षति पुगेको बताइएको छ ।
कतारको राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा पर्ने रास लाफानमा रहेको ग्यास प्रशोधन केन्द्र विश्वकै ठूलो मध्येको एक हो । विश्वको झण्डै २० प्रतिशत एलएनजी आपूर्ति यहीँबाट हुन्छ । यहाँ मुख्यरुपमा प्राकृतिक ग्यास उत्पादन र प्रशोधन गरेर विश्वभर पठाइन्छ ।
त्यस्तै, साउदी अरेबियाले आफ्नो पूर्वी क्षेत्रमा ऊर्जा संरचनालाई लक्षित गरी पठाइएका ड्रोनहरू खसालिएको दाबी गरेको छ । साथै, राजधानी रियाद नजिकै एक रिफाइनरी आसपास ब्यालिस्टिक मिसाइलको अवशेष फेला परेको जनाएको छ । यसअघि इरानले विश्व्कै ठूलो तेल कम्पनी साउदी अरामको नजिकै आक्रमण गरेको थियो ।
इजरायल र अमेरिकाले पनि इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार क्षेत्र साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेका छन् ।
बढ्दो द्धन्द्धले विश्वभर इन्धन संकट चुलिँदै गएको छ । इरानले विश्वकै मुख्य तेल ढुवानी गर्ने जलमार्ग स्ट्रेट अफ हमुर्जमा अवरोध गरेको छ । जसकारण दुई सातादेखि तेल, ग्यास ढुवानी हुन पाएको छैन । यद्यपि, भारत लगायत देशका केही जहाज भने छुटेका छन् ।
युद्धकै कारण विश्व बजारमा कच्चा तेलको भाउ आकाशिएको छ । फेब्रुअरी २८ मा युद्ध सुरु भए यता मात्रै तेलको भाउ ३० प्रतिशतभन्दा धेरै बढिसकेको छ ।

