नेपाल आउने टाटाको नयाँ एसयूभीले पायो फाइभ स्टार रेटिङ

काठमाडौं । नेपाली बजारमा आउने तयारीमा रहेको टाटा मोटर्सको नयाँ एसयूभी सियराले सुरक्षामा अब्बल रेटिङ पाएको छ । टाटा सिएराले भारत एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाएको हो ।

सियरा एसयूभीले वयस्क यात्रु सुरक्षामा ३२ मा ३१.१४ अंक र बाल यात्रु सुरक्षामा ४९ मा ४४.७३ अंक हासिल पाएको छ । हालसम्म भारत एनक्यापद्वारा परीक्षण गरिएका सबै गाडीहरूमध्ये वयस्क सुरक्षा मूल्यांकनमा सियराले छैटौँ स्थानमा पाएको हो ।

त्यस्तै, सियराले फ्रन्टल अफसेट डिफर्मेबल ब्यारियर परीक्षणमा १६ मध्ये १५.१४ अंक र साइड मूभेबल डिफर्मेबल ब्यारियर परीक्षणमा पूर्ण १६ मध्ये १६ अंक हासिल गरेको छ।

सियराको साइड पोल प्रभाव परीक्षणलाई ‘ओके’ भनेर मूल्यांकन गरिएको छ। यो चालक र यात्रु दुवैका लागि टाउको, घाँटी, कुम, जाँघ लगायतका महत्वपूर्ण शरीरका भागहरूको सुरक्षा स्तर ‘राम्रो’ मानिएको छ। केही भागहरू जस्तै छाती र टिबियामा भने ‘पर्याप्त’ स्तरको मूल्यांकन दिइएको छ । यो उपलब्धिले सिएरालाई आफ्नो वर्गका सबैभन्दा सुरक्षित एसयूभीहरूमध्ये एकको रूपमा अझ सुदृढ बनाएको छ ।

सियरा टाटाको नयाँ प्लेटफर्म, नयाँ टेक्नोलोजी र मोर्डन डिजाइनमा बनेको एसयूभी हो । यसको अगाडिको भाग पुरानो मोडेलभन्दा पूर्ण रूपमा फरक देखिन्छ ।

बक्सी तथा मस्कुलर बडी डिजाइन भएको टाटा सियराको अगाडि एलईडी डीआरएल, स्प्लीट हेडल्याम्प र पछाडि कनेक्टेड एलईडी टेललाइट दिइएको छ । त्यस्तै, सियरामा ठूलो १९ इन्चको अलोय ह्वील, फ्लस ढोका ह्याण्डल, सिल्हुट कर्नरिङ फग लाइट जडान गरिएको छ ।

टाटाले सियरा एसयूभीमा कम्पनीकै सबैभन्दा धेरै टेक फिचर उपलब्ध गराएको छ । यसमा ट्रिपल स्क्रीन ड्यासबोर्ड रहेको छ । १२.३ इन्चको दुइटा र १०.२५ इन्चको एउटा टचस्क्रीन राखिएको छ ।

सियरामा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले स्टीयरिङ-माउन्ट, डुअल जोन क्लाइमेट कन्ट्रोल, चंकी स्टीयरिङ ह्वील लेदरेट, भेन्टिलेटेड फ्रन्ट सिट, प्रिमियम अडियो सिस्टम, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ अगाडि र पछाडिको आर्मरेस्ट, पछाडिको एसी भेन्टहरू, आइआरभीएम छ ।

यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग, ईबीडीसहितको एबीएस, ईएससी, ३६० डिग्री क्यामेरा, लेभल २ एडास, क्रुज कट्रो, स्वचालित इमरजेन्सी ब्रेकिङ, लेन किप असिस्ट, लेन डिपाचर अलर्ट लगायत फिचर छन् ।

नयाँ सियराको इन्जिन पहिलाको भन्दा पावर फुल छ । यसमा १.५ लिटर क्षमताको डाइरेक्ट इन्जेक्सन टर्बो चाज्र्ड पेट्रोल इन्जिन छ । उक्त इन्जिनले १७० हर्सपावर र २८० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको म्यानुअल र ७ स्पीडको अटोमेटिक गियरबक्स छ । डिजेल इन्जिन भने २.० लिटरमा छ ।


Back_to_top