देखियो ५३६५ एमएम लामो इलेक्ट्रीक एसयूभी, ब्याट्री नै १०० किलोवाट आवर माथि

काठमाडौं । चिनियाँ कम्पनी नियोले बजारमा ल्याउने तयारी गरिरहेको नयाँ एसयूभी ‘ईएस ९’को तस्बिर बाहिरिएको छ । आगामी जुन १ देखि बिक्री सुरु हुने यो एसयूभीको विज्ञापन छायांकन भइरहेको तस्बिर सार्वजनिक भएको हो ।

नियो ईएस ९ चीनको सबैभन्दा ठूलो सामूहिक उत्पादन हुने ब्याट्री इलेक्ट्रीक एसयूभी समेत बन्ने अपेक्षा गरिएको छ । यसको लम्बाइ ५३६५ एमएम, चौडाइ २०२९ एमएम र उचाइ १८७० एमएम छ। यसको ह्वीललबेस ३२५० एमएम रहेको छ।

यो जनरल मोटर्सको सबैभन्दा लामो चर्चित एसयूभी ‘क्याडिल्याक एस्केलेड’ भन्दा १७ एमएम मात्र छोटो छ । तर यसको ह्वीलबेस भने क्याडिल्याकको भन्दा १७९ एमएम लामो छ।

ईएस ९ को डिजाइन नियोको आधुनिक शैलीमा आधारित छ। यसको अगाडिको भाग तिखो देखिन्छ । यसमा विशेष म्याट्रिक्स हेडलाइटहरू छन् । गाडीको छतमा नियोको सिग्नेचर ‘थ्री हर्न’ जस्तो डिजाइन छ । जसमा एउटा लाइडार सेन्सर र दुईवटा उच्च क्षमताका क्यामेराहरू राखिएका छन्।

सुरक्षित यात्राका लागि यसको अगाडिको भागमा ब्लाइण्ड स्पटहरू पत्ता लगाउने सेन्सरहरू जडान गरिएको छ । पछाडिको भागमा तीन तहको आकर्षक लाइट र लुकेका वाइपरहरू छन्।

ईएस ९ मा नियोका सबैभन्दा अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ। यसमा ‘स्टियर बाई वायर’ प्रविधि, हावाबाट चल्ने सस्पेन्सन सिस्टम र रियर ह्वील स्टेरिङ सुविधा छ। यो गाडीमा नियोले आफैं बनाएको ‘शेन्जी एनएक्स ९०३१’ चिप र अत्याधुनिक अक्विला सेन्सिङ सिस्टम छ। यसमा ९०० भोल्टको हाइ भोल्टेज सिस्टम र गाडीको उचाइ आफैं मिलाउन सक्ने प्रविधि पनि समावेश छ ।

ईएस ९ एसयूभीमा दुईवटा मोटर जडान गरिएको छ । अगाडि १८० किलोवाट र पछाडि ३४० किलोवाटको मोटर छ । यसले संयुक्त रूपमा ६९७ हर्षपावर तथा ७०० एनएम टर्क जेनेरेट गर्छ ।

यो गाडी २२० किमी प्रतिघण्टाको गतिमा दौडन सक्छ । यसमा १०२ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ५८० देखि ६२० किलोमिटरसम्मको रेन्ज दिन्छ। यसमा नियोको प्रसिद्ध ३ मिनेटमै ब्याट्री साट्न मिल्ने स्वाप प्रविधि पनि छ। यो गाडी ६ र ७ सिटको विकल्पमा उपलब्ध हुनेछ।

नियो ईएस ९ को सुरुवाती मूल्य करिब साढे ७२ हजार अमेरिकी डलर हुने अनुमान गरिएको छ ।


Back_to_top