काठमाडौं । विश्वकै ठूलो ईभी उत्पादक बीवाइडीले दोस्रो पुस्ताको ब्लेड ब्याट्री (ब्लेड २.०) प्रयोग भएको इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ ।
कम्पनीले पहिलोपटक ब्लेड २.० ब्याट्री र फ्ल्यास चार्जिङ प्रविधि भएको मिड साइज एसयूभी ‘सङ अल्ट्रा ईभी’ बिक्री सुरु गरेको हो ।
कम्पनीले सङ अल्ट्रा चार भेरियन्टमा बजारमा ल्याएको छ । जसको बेस भेरियन्टको मूल्य २१ हजार ९८० अमेरिकी डलर रहेको छ । टप भेरियन्टको भने २४ हजार ८०० डलर रहेको छ ।
सङ अल्ट्रा एसयूभीको लम्बाइ ४८५० एमएम, चौडाइ १९१० एमएम र उचाइ १६७० एमएम छ । यसको ह्वीलबेस २८४० एमएम छ ।
सङ अल्ट्रा एसयूभीमा २४० किलोवाट र २७० किलोवाट क्षमताका दुई मोटर अप्सन छन् । जसले क्रमशः ३०५ एनएम टर्क र २१० किमी प्रतिघण्टाको उच्च गति दिन्छन्।

यो एसयूमीमा ६८.४ किलोवाट आवर र ८२.७ किलोवाट आवरको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ। जसले एकपटको फुलचार्जमा क्रमशः ६२० किमी र ७१० किमीको रेन्ज दिनेछ ।
यो एसयूभी १० प्रतिशतबाट ७० प्रतिशत चार्ज हुन मात्र ५ मिनेट लाग्छ भने १० प्रतिशत बाट ९७ प्रतिशतसम्म चार्ज हुन केबल ९ मिनेट मात्रै लाग्छ । माइनस ३० डिग्री सेल्सियसको चिसोमा पनि चार्जिङ समय मात्र ३ मिनेटले बढ्छ ।
सङ अल्ट्राको अगाडिको भाग निकै सरल र आकर्षक छ । यसमा कालो ग्रिल र एउटैमा जोडिएको हेडलाइट, वारपार जोडिएको डीआरए छ । पछाडिको भागमा चाइनिज नट डिजाइन भएको लाइट बार र एउटा स्पोइलर राखिएको छ । यसमा १९ इन्चको लो ड्र्याग ह्वीलहरू छन् ।

यसको क्याबिनमा बीवाइडीको यूआइ ७.० प्रणालीमा चल्ने १५.६ इन्चको घुम्ने सेन्टर डिस्प्ले, १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर र २६ इन्चको हेडअप डिस्प्ले रहेको छ। भित्री भागमा सफ्ट टच सामग्रीहरू प्रयोग गरिएको छ। यसमा स्टियरिङको पछाडि माउन्ट गरिएको इलेक्ट्रोनिक सिफ्टर र थ्रीडी एम्बियन्ट लाइटिङ छ।
सङ अल्ट्रामा डी-सस-सी इन्टेलिजेन्ट ड्याम्पिङ बडी कन्ट्रोल सिस्टम र फ्ल्याट टायर स्टेबिलाइजेसन सिस्टम जडान गरिएको छ। यसले टायर पन्चर भएको अवस्थामा पनि यसले १४० किमी प्रतिघण्टाको गतिसम्म गाडीलाई नियन्त्रणमा राख्न मद्दत गर्छ। गाडीमा २७ वटा सेन्सरहरू छन् । जसले सहरी नेभिगेसन र सबै प्रकारका पार्किङ सुविधाहरूमा सहयोग पुर्याउँछन्।
बीवाइडीको नयाँ एसयूभीमा ग्राहकको उचच आकर्षण देखिएको छ । मार्च ६ मा प्रिसेल सुरू भएदेखि हालसम्म २१ हजार ५८६ युनिटभन्दा बढी बुकिङ भइसकेको बीवाइडीले जनाएको छ ।

