काठमाडौं । आजदेखि काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो दुरीको स्याफ्रुबेँसी-रसुवागढी सडक १५ दिनका लागि बन्द भएको छ ।
उक्त सडक स्तरोन्नतिका लागि बुधबारदेखि वैशाख २ गते (अप्रिल १ देखि १५ सम्म) बन्द गरिएको हो ।
गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक आयोजनाका अनुसार उक्त सडक चीन सरकाले अनुदानमा स्तरोन्नति गरिदिन लागेको हो । चिनियाँहरुले आजदेखि सडक बन्द गरेर विभिन्न ठाउँमा रिटेनिङ वाल लगाउने काम सुरू गर्न लागेका हुन् ।
उक्त सडक आगामी ३ महिनासम्म हरेक महिना १५/१५ दिन बन्द रहने छ । दोस्रो चरणमा वैशाख १८ देखि जेठ १ गतेसम्म बन्द रहने छ । त्यसपछि १५ दिनका लागि खुलाइने सडक जेठ १८ देखि असार १ गतेसम्म बन्द हुने आयोजनाले जनाएको छ ।
गत वर्षायाममा आएको बाढीले कटान गरेको उक्त सडक हाल २.५ देखि ३ मिटर चौडामा ट्रयाक खोलेर सवारी संचालन गरिएको छ । उक्त सडक स्तरोन्नतिको ठेक्का चिनियाँ कम्पनी सिचाङ थियान्लुले पाएको छ ।
आयोजनाका इन्जिनियर कुमार पराजुलीले साँघुरो सडकमा सवारी संचालन गर्दा काम गर्न अफ्ठेरो हुने भएकाले बन्द गरेर काम गर्न लागिएको बताए । उनले आगामी वर्षायाम अगाडि कटान गरेको १० ठाउँमा वाल उठाइसक्ने लक्ष्य रहेको बताए ।
‘चिनियाँ पक्षले आजदेखि सडक विस्तारको काम थाल्दैछन् । सुरूमा वर्षामा बाढीले कटान गरेको ठाउँमा वाल लगाउन सुरू गर्ने भनेका छन् । सडक साँघुरो रहेकाले बन्द गरेर काम गर्न लागिएको हो,’ उनले मेरोअटोसँग भने ।
स्याफ्रुबेँसी-रसुवागढीसम्म १७ किमी सडक चीन सरकारले अनुदानमा बनाइदिन लागेको हो । यसको ठेक्का चिनियाँ कम्पनी सिचाङ थियान्लुले साढे ६ अर्ब रुपैयाँमा पाएको छ ।
२०७६ असोजमा नेपाल र चीन सरकार बीच उक्त सडक निर्माण सम्बन्धी सम्झौता भएको थियो । चिनियाँ टोलि उक्त सडक विस्तारका लागि १ वर्ष अघि नै नेपाल आइसके पनि निकुन्जको जमिन प्रयोग गर्न र गिट्टी, बालुवा, ढुंगा निकाल्ने अनुमति नपाउँदा सडक विस्तारको काम सुरू गरेका थिएनन् ।
गत मंसिर १५ गतेको मन्त्रिपरिषद् बैठकले अस्थायी प्रयोजनका लागि लाङटाङ निकुन्ज क्षेत्रको २० हजार वर्गमिटर जमिन प्रयोग गर्न दिने र सडकको एलिजमेन्ट तथा नदी किनाराबाट उत्खनन गरिने ढुङ्गा, गिट्टी, बालुवामा लाग्ने दस्तुर छुट दिने निर्णय गरेसँगै चिनियाँ पक्षले सडक विस्तारको काम अघि बढाएको हो । गत पुसदेखि नै चिनियाँ पक्षले नदीबाट गिट्टी, बालुवा संकलन लगायत पूर्वतयारीका काम गरिरहेका थियो ।
यो सडक दुई लेन (८.५ मिटर फराकिलो) कालोपत्र गरिने छ । उक्त खण्डमा पर्ने पुलहरू यसअघि नै चीन सरकारले निर्माण सम्पन्न गरिसकेको छ ।
नेपाल-चीन बीच भएको सम्झौता अनुसार उक्त सडक निर्माण थालिएको ३९ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो सडक निर्माण सम्पन्न भएपछि रसुवागढी-स्याफ्रुबेँसी सडकको यात्राअवधि करिब २० मिनेटमा छोटिने छ । अहिले १ घण्टा बढी लाग्दै आएको छ ।
२०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले गल्छी-मैलुङ-रसुवागढी सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो । सरकारले यसलाई उत्तर-दक्षिण राजमार्गका रुपमा सूचीकृत नगरे भारत-नेपाल-चीन तीन देशलाई जोड्छ । भारतीय सीमा चितवनको भण्डाराबाट चिनियाँ सीमा रसुवागढीसम्म पुग्नेछ ।
अहिले गल्छीदेखि रसुवागढीसम्म विस्तारको काम भइरहेको हो । पहिलो खण्ड गल्छी-त्रिशूली-मैलुङ सडक निर्माण करिब अन्तिम चरणमा पुगेको छ । यसखण्डको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ ।
त्यस्तै, दोस्रो मैलुङ स्याफ्रुबेँसीखण्डको काम अहिले ठप्प छ । एकपटक लगाएको ठेक्का सम्झौता तोडी नयाँ ठेक्का लगाउने तयारी भइरहेको छ ।
सामान आयात प्रभावित हुने
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडक ३ महिनामा ४५ दिन बन्द हुने भएपछि सामान आयात प्रभावित हुने भएको छ ।
गत असारदेखि बन्द उक्त नाका पुस तेस्रो सातादेखि खुलेको थियो । तर, अब फेरि १५/१५ दिनमा बन्द हुने भएपछि सामान आयात नियमित हुने छैन । व्यवसायीले सडक खुला भएको समयमा समान नभित्र्याए अर्को १५ दिन कुनुपर्ने अवस्था आउने भएको छ ।
चीनबाट आयात हुने सबैभन्दा धेरै विद्युतीय सवारी यही सडक हुँदै ल्याइन्छ । सडक बन्द भए पनि भन्सार कार्यालय भने खुला नै रहने छ ।

