काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपाल (नाडा)ले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग अटोमोबाइल वस्तुहरूमा अधिकतम मूल्य सूचि (एमआरपी) सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल गरेको छ ।
मंगलबार नाडा प्रतिनिधि मण्डलले महानिर्देशक ज्ञवालीलाई भेटी अटोमोबाइल वस्तुमा एमआरपी बारे विभिन्न चासो र जिज्ञाशा राखेको हो । साथै, यसबारे थप स्पष्टताको लागि लिखित पत्र बुझाउँदै समाधानका लागि समेत आग्रह गरेको हो ।
विदेशबाट पैठारी गरी नेपालमा विक्री वितरण गरिने सम्पूर्ण वस्तुहरूको अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने र वस्तु बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक जारी गर्ने विभागको व्यवस्थालाई नाडाले सराहना समेत गरेको छ ।
नाडाले एमआरपी स्टिकर कसरी व्यावहारिक र कार्यान्वयन योग्य बनाउने, पुरानो स्टकमा भएका सामानहरूको हकमा के गर्ने ? भन्सार विन्दुमै स्टिकर टाँस्नु पर्ने व्यवस्था कति व्यावहारिक हुन्छ भन्ने जिज्ञासा राखेको थियो । नाडाले सदैव फेयर ट्रेड र ट्रान्सपरेन्सी व्यवसायलाई आधिकारिक रुपमै प्रबद्र्धन गर्दै आएको समेत बताएके छ ।
महानिर्देशक ज्ञवालीले उपभोक्ता संरक्षण ऐन २०३५ मा भएको व्यवस्थालाई नै कार्यान्वयनमा ल्याइएको र वर्तमान सरकारको १०० बुँदे शासकीय योजनामा समेत यो विषयलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने उल्लेख गरे । उनले यस सम्बन्धमा नाडाको थप चासो र जिज्ञासाहरू सकारात्मक रहेको बताए ।
महानिर्देशक ज्ञवालीले यसको कार्यान्वयनमा आउने वाधा अड्चनहरू हटाउन विभाग तयार रहेको आश्वासन दिँदै यसको कार्यान्वयनका लागि व्यवसायीहरूकोतर्फबाट प्रतिवद्धता समेत आउने पर्ने बताए ।
उनले स्टिकर सहितको अभिकतम मूल्य सूचि टाँस्ने सम्बन्धमा उद्योग र आयातकर्ताप्रति विभाग कडा रूपमा प्रस्तुत हुने भन्दै विद्यमान कानूनमा सुधार आवश्यक छ भने त्यस्तो सुझाव समेत नाडाबाट आउनु पर्ने बताए ।

