काठमाडौं । यातायात व्यवसायीले कोशी प्रदेशमा बाहेक अन्य प्रदेशमा विद्यार्थीहरूलाई सवारी भाडादरमा ४५ प्रतिशत छुट दिन नसक्ने बताएका छन् ।
यातायात व्यवस्था विभागले व्यवसायीलाई पत्र काट्दै २०६५ फागुन २० गते भएको सहमति अनुसार भाडामा ४५ प्रतिशत छुट दिन निर्देशन दिएको थियो ।
उक्त पत्रको जवाफ पठाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले सहमति अनुसार सवारी साधनमा कर छुट नदिएको भन्दै व्यवसायीले पनि भाडा छुट दिन नसक्ने बताएको हो ।
२०६५ मा भएको सम्झौता अनुसार विद्यार्थीलाई व्यवसायीले ४५ प्रतिशत छुट दिएबापत सरकारले वार्षिक कर, रुट परमिट र जाँचपासमा ६० प्रतिशत छुट दिने सहमति भएको थियो । तर, देश संघीयतामा गएपछि व्यवसायीले पाउँदै आएको ६० प्रतिशत सहुलियत २०७३ सालदेखि नपाएको महासंघले जनाएको छ । हाल कोशी बाहेक अन्य प्रदेशले व्यवसायीलाई छुट नदिएको महासंघको भनाइ छ ।
६० प्रतिशत छुट हटाएको बारे यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय र प्रदेशका यातायात मन्त्रालयहरूमा समायोजन गर्न माग गर्दै आएकोमा हालसम्म पनि सुनुवाइ नभएकाले ६० कर छुट सरकारहरूले लागू नगरेसम्म विद्यार्थीलाई भाडा छुट दिन नसक्ने महासंघको भनाइ छ ।


