काठमाडौं । तपाईंले सडकमा जथाभावी पार्किङ गर्ने सवारीलाई ट्राफिक प्रहरीले ‘ह्वीललक’ गरेको देख्नु भएकै होला । तर, कपिलवस्तुमा भने ट्राफिकले नियम उल्लंघन गर्ने सवारीलाई नयाँ शैलीमा कारबाही थालेको छ ।
ट्राफिकले नियम उल्लङ्घन गर्दै जथाभावी पार्किङ गर्ने सवारी साधनलाई साङ्लोले बाँधेर नियन्त्रणमा लिन थालेको हो ।
शिवराज नगरपालिकाको व्यापारिक केन्द्र चन्द्रौटा बजारमा सडक किनार, चोक तथा बजारका व्यस्त क्षेत्रमा चालकले जथाभावी पार्किङ गर्न थालेपछि नियन्त्रणका लागि साङ्लोले बाँध्ने शैली अपनाएको हो ।
मुख्य गरी ठूला सवारी साधनका लागि पर्याप्त ह्वीलक नभएपछि विकल्पमा साङ्लो प्रयोग गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
बजार क्षेत्रमा हुने सवारी जाम, दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले बजार क्षेत्रमा विशेष निगरानी सुरु गरेको छ ।
सो क्रममा जथाभावी पार्किङ गर्ने सवारीलाई सुरूमा सचेत गराउने, पुनः उल्लंघन गर्ने सवारीलाई साङ्लोले बाँधेर नियन्त्रणमा लिने र आवश्यक परे जरिवाना गर्ने रणनीति अपनाइएको छ ।
प्रहरीले चालकहरूलाई जथाभावी नभई तोकिएको पार्किङस्थलमा मात्रै पार्किङ गर्न आग्रह गरेको छ । नियम उल्लंघन गरे कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।
स्थानीय व्यवसायी तथा सर्वसाधारणले भने ट्राफिकको उक्त अभियानको स्वागत गरेका छन् । यसले बजारमा सवारी व्यवस्थापन भई व्यापार, आवतजावत र सुरक्षामा सहयोग पुग्ने उनीहरको भनाइ छ ।

