काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी चेकजाँचलाई तीव्रता दिएको छ ।
पछिल्लो २४ घण्टा (वैशाख १२ बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म) मात्रै काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा नियम उल्लंघन गर्ने २ हजार ४९२ चालकलाई कारबाही गरेको हो ।
कार्यालयका अनुसार ६८ जना मापसे, २७५ राइड सेयरिङ, १५४ रेड लाइट, १८३ तीव्र गति, ९६ लेन, १६९ सडक फूटपाथ, ७५ नो हर्न, ५९ पिक एण्ड ड्रप र अरु नियम मिच्ने १४९३ चालक कारबाहीमा परेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकाहरूलाई ५ लाख ४ हजार ५०१ रुपैयाँ जरिवाना गरिएको छ ।
ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने, सवारी जाँचपास नगर्ने लगायतलाई कारबाही गरी जरिवाना तिराउँदै आएको छ ।
आगामी दिनमा चेकिङमा झन् कडाइ गरिने प्रहरीको भनाइ छ ।

