यातायात कार्यालयले भन्यो-‘बिहान ७ बजेदेखि नै लाइन बस्नुपर्दैन, १ बजेपछि हलुका हुन्छ’

काठमाडौं । यातायात व्यवस्था कार्यालय, ठूलो भर्याङले सेवाग्राहीलाई बिहान ७/८ बजेदेखि नै आएर लाइन नबस्न अनुरोध गरेको छ ।

कार्यालयले फेसबुक पेजमार्फत कार्यालय ९ बजेदेखि खुल्ने र कार्यालयको हालको बोझ अनुसार बिहानै आएर लाइन बस्न आवश्यक नरहेको बताएको हो ।

कार्यालयका अनुसार अहिले प्रत्येक दिन करिब १ बजेसम्म सबैको काम सकिएर काम हलुका भइसकेको हुन्छ । त्यसैले सेवाग्राही १ बजेपछि आएमा झन् सहजै सेवा पाउने कार्यालयले बताएको छ ।

बैंक दिउँसो ४ बजेसम्म र कार्यालय ५ बजेसम्म खुल्ने हुनाले आफ्नो समय व्यवस्थापन गरेर भीडभाड नहुने बेला सहज सेवा लिनेगरी आउन कार्यालयले आग्रह गरेको छ ।

‘कार्यालय विहान ९ बजे देखि खुल्छ । तर सेवाग्राहीहरु विहान ७, ८ बजे देखि नै आएर कार्यालय बाहिर लाइन बस्ने गर्नुभएको छ । अहिले कार्यालयको कार्यबोझ अनुसार बिहान देखि नै लाइन बस्नु पर्ने आवश्यकता छैन । प्रत्येक दिन करिब १ बजे सम्ममा सबैको काम सकिएर कार्यालय हलुका भइसकेको हुन्छ । सोमबारको दिनमा केही भीड हुन्छ अन्य दिनहरुमा खालिखालि नै छ,’ कार्यालयले भनेको छ,’ ‘दिउँसो बैंक ४ बजे सम्म खुल्ने र कार्यालय ५ बजे सम्म खुल्ने हुनाले आफ्नो समय व्यवस्थापन गरेर भीडभाड नहुने बेला सहज सेवा लिन सक्नुहुन्छ ।’

गत साता यातायात व्यवस्था विभागले यस कार्यालयका सेवाग्राहीको लाइसेन्स छापेर वितरणका लागि पठाएको थियो । त्यसपछि कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको हो ।


Back_to_top