काठमाडौं । वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा संचालनमा ल्याइएको रात्रिकालीन बससेवा प्रभावकारी देखिएको छ ।
साझा यातायातले संकलन गरेको तथ्यांक अनुसार एक हप्ता (वैशाख १ देखि ७ गतेसम्म)मा ४ हजार २३ जना यात्रुहरूले यात्रा गरेका हुन् ।
दैनिक औसतमा ६७५ जनाले रात्रि बस सेवामार्फत यात्रा गरेका छन् । साझाको तथ्यांक अनुसार वैशाख १ गते ५०४ यात्रु, २ गते ५४० जना, ३ गते ५४१ जना, ४ गते ५९२ जना, ५ गते ६८३ जना, ६ गते ६१४ जना र ७ गते ५४९ जनाले यात्रा गरेका छन् ।
वैशाख १ देखि लगनखेलदेखि बुढानीलकण्ठ र नागढुङ्गा (चेकपोस्ट) देखि एयरपोर्ट रुटमा विद्युतीय बस सेवा सुरू गरिएको थियो । उत्तर दक्षिण रुट अन्तर्गत चल्ने बस लगनखेलबाट पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ ।

त्यस्तै, पूर्वपश्चिम रुटको दुरी २० किलोमिटर छ । यो रुट अन्तर्गत थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमान स्थलका लागि छुट्नेछ ।
प्रत्येक २० मिनेटको अन्तरालमा बसहरू छुट्ने छन् । रात्रिकालीन यात्रालाई सुरक्षित र मर्यादित बनाउन प्रत्येक बसमा काठमाडौं महानगरपालिकाका एक/एक जना नगर प्रहरी पोशाकमा खटाइएको छ ।


