काठमाडौं । अब नागरिक एपबाटै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छापिएको/नछापिएको बारेमा जानकारी पाइने भएको छ ।
नागरिक एपमा नयाँ भर्सन (२.०.९५) अपडेट गरिएसँगै यो सुविधा थप भएको हो । यससँगै अब सेवाग्राहीले आफ्नो नागरिक एपको ‘सवारी चालक अनुमतिपत्र’ सेक्सनमा कार्ड छापिएको बारेमा जानकारी पाउने छन् ।
यदि कार्ड छापिएको भएमा एपमा ‘तपाईंको सवारी चालक अनुमतिपत्र छापिएको छ, कृपया सम्बन्धित कार्यालयबाट लिनुहोस्’ भन्ने सूचना देखिन्छ । यदि छापिएको छैन भने एपमा कुनै सूचना देखिँदैन ।
हाल यो फिचर एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । छापिएको सूचना देखिएमा सेवाग्राहीले आफूले आवेदन दिएको कार्यालयमा उपस्थित भई आफ्नो लाइसेन्स लिन सक्नेछन् ।
लाइसेन्स लिन जाँदा नयाँको हकमा राजस्व तिरेको सक्कल रसिद र नवीकरणको हकमा पुरानो लाइसेन्स र रसिद अनिवार्य लैजानुपर्नेछ ।
सुरक्षण मुद्रण केन्द्रले १२ लाख थान लाइसेन्स छापेसँगै यातायात व्यवस्था विभागले देशभरका कार्यालयहरूमा लाइसेन्स वितरणका लागि पठाउन थालेको छ । यस्तोमा सेवाग्राहीलाई लाइसेन्स छपाइ बारे जानकारी दिन एपमा नयाँ फिचर थपिएको हो ।

