काठमाडौं । ब्रिटिश ब्राण्ड एमजीको शक्तिशाली प्रिमियम इलेक्ट्रीक पिकअप ‘यू नाइन’ नेपाल आउने भएको
नेपालका लागि एमजी मोटरको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले आफ्नो प्रिमियम ईभी पोर्टफोलियोलाई थप मजबुत बनाउन एमजी यू नाइन ईभी ल्याउने भएको हो ।
उक्त पिकअप चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एमजी यू नाइन लक्जरी र फ्यागशिप गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
प्योर इलेक्ट्रीक एमजी यू नाइन अत्याधुनिक प्रविधि र विलासी फिचरले भरिपूर्ण छ । असाधारण शक्ति र प्रदर्शन गर्ने क्षमता भएको यो पिकअप नेपाली बाटोहरूका लागि एक शक्तिशाली विकल्पको रूपमा बन्नेछ ।
यू नाइन पिकअपमा ३२५ किलोवाटका दुई वटा (फ्रन्ट १२५ किलोवाट र रियर २०० किलोवाट) इलेक्ट्रीक मोटर छ । जसले ७०० न्युटन मिटर टर्क प्रदान गर्दछ । शक्तिशाली मोटर भएकै कारण यो पिकअपले केबल ५.८ सेकेण्डमा शून्यदेखि १०० किमी प्रतिघण्टाको स्पीड भेटाउन सक्छ ।

यू नाइनमा १०२.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ । जसले एकपटकको फुलचार्जमा ४३० किमी रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसलाई फास्ट चार्जिङ मार्फत ४२ मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
यसमा रहेको एयर सस्पेन्सन र विभिन्न ड्राइभिङ मोडहरू (नर्मल, इको, स्पोर्ट, स्नो, अफरोड कस्टम)ले कठिन भू-बनोटमा पनि आरामदायी यात्रा सुनिश्चित गर्दछ ।
यसको इन्टेरियर बनावट अत्यन्तै विलासी छ । यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन, ८ वटा स्पिकरयुक्त जेबीएल अडियो सिस्टम, ६४ कलरको एम्बियन्ट लाइटिङ रहेको छ । फ्ल्यागशिप भेरियन्टमा चालकको सिटका लागि ८ वे इलेक्ट्रोनिक एडजस्टमेन्ट, भेन्टिलेसन, मसाज र मेमोरि फङ्सन जस्ता प्रिमियम सुविधाहरू उपलब्ध छन् ।

सुरक्षाका लागि यसमा ३६० डिग्री एचडी क्यामेरा, एडाष्टिभ कुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट एडास फिचरहरू समावेश छन्।
यो पिकअप केवल विलासी मात्र नभई उत्तिकै उपयोगी पनि छ। यसको ३५०० केजी सम्मको लोडिङ क्षमता छ । यसमा रहेको भीटुएल प्रविधिले गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू पनि चलाउन सक्नेछन् ।
यू नाइनले नेपाली बजारमा इलेक्ट्रीक प्रिमियम पिकअप सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने विश्वास प्यारामाउन्ट मोटर्सले लिएको छ ।

