एथरको सस्तो मूल्यको नयाँ इलेक्ट्रीक स्कुटर आउँदै, धमाधम रोड टेस्ट गर्दै

काठमाडौं । भारतीय दुईपाँग्रे इलेक्ट्रीक निर्माता एथरले नयाँ स्कुटर ल्याउने तयारी तीव्र पारेको छ । कम्पनीले नयाँ ईएल प्लेटफर्ममा आधारित किफायती र सस्तो मूल्यको स्कुटर ल्याउने भएको हो ।

कम्पनीले अहिले उक्त नयाँ मोडलको सडक परीक्षण सुरू गरेको छ । रिपोर्ट अनुसार एथरको नयाँ प्लेटफर्ममा आधारित नयाँ मोडल (टेस्ट म्युल) सडकमा देखिएको हो ।

एथरले यो स्कुटर पहिलोपटक ‘कम्युनिटी डे २०२५’ मा टिज गरेको र पछि डिजाइन पेटेन्टमार्फत थप विवरण सार्वजनिक भएको थियो । हाल देखिएका स्पाइ इमेजहरूले स्कुटरको परीक्षण चरण अगाडि बढिरहेको पुष्टि गरेको हो ।

स्पाइ तस्बिर अनुसार नयाँ स्कुटरको डिजाइन परिवार केन्द्रित देखिन्छ, जुन एथर ईएल ०१ कन्सेप्टसँग मिल्दोजुल्दो छ । स्कुटरको ह्याण्डलबारमा माउन्ट गरिएको हेडलाइट, अगाडिको भागमा चौडा एलईडी डीआरएल, ठूलो फ्रन्ट प्रोफाइल र सामान्य फ्रन्ट फेन्डर जस्ता विशेषता देखिएका छन् ।

स्कुटरमा फ्ल्याट फ्लोरबोर्ड राखिएको छ, जसले दैनिक प्रयोगलाई अझ सहज बनाउने देखिन्छ । साथै, लामो सिंगल-पिस सिटले चालक र पछाडि बस्ने व्यक्ति दुवैलाई आरामदायी अनुभव दिने छ । स्कुटरको पछाडिको डिजाइन सरल र व्यावहारिक छ ।

कम्पनीको हालको लाइनअपमा यो नयाँ स्कुटर एथर रिज्टाभन्दा मुनिको मोडल हुनेछ । ४५० सिरिज पर्फमेन्स खोज्ने ग्राहक र रिज्टा पारिवारिक प्रयोगका लागि केन्द्रित छ । नयाँ ईएल प्लेटफर्म स्कुटर मास-मार्केट र किफायती मूल्य वर्गलाई लक्षित छ ।

नयाँ मोडलका बारेमा आधिकारिक विवरण सार्वजनिक नभए पनि स्कुटरमा २ देखि ५ किलोवाट आवरसम्मका ब्याट्री विकल्पहरू उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । यसमा लागत घटाउन र दीर्घकालीन प्रयोग सुनिश्चित गर्न एलएफपी ब्याट्री प्रविधि प्रयोग गरिने छ ।

बेस भेरियन्टमा आवश्यक फिचरहरू मात्र पाइनेछ भने टप भेरियन्टमा अलि एड्भान्स फिचरहरू हुनेछ । एथरको नयाँ स्कुटर सन् २०२६ को फेस्टिभ सिजनमा सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ ।


Back_to_top